विश्वास घात हुँदा पूर्व मिस नेपालको टुट्यो मन, छुट्यो जिपीको साथ

  Sampatti News

March 17, 2020

नेपाली समाजमा तथ्य नबुझि जस्तो हल्लामा पनि विश्वास गर्र्ने एउटा विडम्वना छ । कागले कान लियो भन्दैमा मान्छेहरु कान छाम्दैनन् की, कागको पछि दगुर्ने गर्दछन् । यही कारण कुनै कमजोरी नै नभएको व्यक्तिसमेत समाजमा आफ्नो टाउको लुकाएर लुकी लुकी हिंड्नुपर्ने अवस्था सिर्जना हुने थुप्रै उदाहरण छन् । कमजोरी गर्ने मानिसले टाउको लुकाएर हिंड्नुपर्ने अवस्था आउनु त स्वभाविकै होला तर कुनै गल्ती नगरेको व्यक्तिसमेत भयङ्कर ठूलो अपराधीजस्तो गरेर समाजमा नाक देखाउन लाज मान्नुपर्ने अवस्था आउँदो रहेछ ।

पछिल्लो समय केही नेपाली मिडियाहरुले एक यस्तै घटनामा आफ्ना कान नछामेर काग छोप्न हिंडिरहेको जस्तो गरिरहेका छन् । कुनै समय नेपाली ‘ग्यालमर’ क्षेत्रको उदारणीय जोडी मानिने पूर्व मिस नेपाल उषा खड्गी र सञ्चारकर्मी गणेशप्रसाद तिमिल्सिना (जिपी) बिचको वैमन्यश्यताको चुरो नै नबुझि मिडियाहरुले अँध्यारोमा ढुँगा हानिरहेका छन् । राज्यको चौथो अंग मानिने सञ्चार क्षेत्रले नै यस्तो गर्न थालेपछि सर्वसाधारणले पनि विश्वास गर्नुपर्ने बाध्यता छ ।

आजभन्दा १९ वर्षअघि पर्साको वीरगञ्ज स्थायी घर भएकी उषा र रौतहटको चन्द्रनिगाहपुर घर भएका तिमिल्सिनाको पहिलो भेट नेपाल टेलिभिजनमा तिमिल्सिनाले ‘म्युजिक प्लस’ कार्यक्रम सञ्चालन गर्ने क्रममा भयो । जिपी सञ्चार क्षेत्र र अझ खासगरी सिने क्षेत्रको चर्चित पत्रकार भइरहेकै बेला समयले उनलाई उषा खड्गीसँगको सामिप्यतामा मात्रै ल्याएन, दुवैजनाले पत्तो नै नपाउने गरी उनीहरु गहिरो प्रेम सम्बन्धमा परे । एक अर्को बिना बाँच्नै नसक्ने अवस्थामा जस्तो उनीहरु पुगे ।

गहिरो प्रेमसम्बन्धका कारण उषा जिपीको क्यारियर बढ्दै गएकोमा मख्ख थिइन भने जिपी उषाका लागि उनले चाहना गरिरहेको मिस नेपालको ताजको पर्खाइमा थिए । जीवन संघर्षका क्रममा एक अर्कालाई असाध्यै माया गर्ने मात्रै होइन्, जुनीभरी सँगै जिउने वाचासहित २०५९ को वैशाख २६ गते जिपी र उषा विवाह बन्धनमा बाँधिए । यसबिचमा उषाले मिस नेपालको ताज पहिराइसकेकी थिइन् भने अथक संघर्षको उपजको रुपमा जिपीले राजधानीको नरेफाँटमा घर निर्माण गरिसकेका थिए । यही क्रममा जसरी जिपीले उषालाई मिस नेपाल बनाइ छोड्न आफ्नो पूरा ताकत लगाए त्यसैगरी उषाले पनि आफ्नो क्षेत्रमा सफलता हात पार्दै गएको देखिन्छ ।

जिपीको रगत पसिनाले आर्जेको नरेफाँटस्थित घर अब उजाडियो

कार्यक्षेत्रको निरन्तरको सफलता मात्रै होइन, राष्ट्रिय अन्तराष्ट्रिय रुपमा पनि दुवैजनाले ख्याती कमाउँदै गए । विस्तारै पहिलो सन्तानको रुपमा उनिहरुकी एक छोरी जन्मिइन । सन्तान प्राप्तीले उनीहरुलाई झन परिपक्व बनाउँदै लग्यो भने विस्तारै जिपीले पर्मोटर्स नेपाल नामक विज्ञापन ऐजेन्सी र उषाले कुपोण्डोलमा बुटिक व्यवसाय शुरु गरे । निकै व्यवस्थित परिवार क्या जमेर नाम कमाउँदै दाम पनि कमाइरह्यो । जिपीले निर्माण गरेको नरेफाँटको घरमा उषाले आफ्ना आमा बुवासमेत ल्याएर राखिन । अर्को सन्तानको रुपमा छोरा जन्मिएपछि त झन यो परिवारको खुसी झन बढ्यो । स्वदेशका राम्रा राम्रा स्थान मात्रै होइन् यो बिचमा उनीहरुले देश विदेश पनि सँगसँगै कति घुमे कति ।

अचानक डिभोर्सको समाचार
२०७६ को दशैंलगत्तै एक राष्ट्रिय पत्रिकामा जिपी र उषाको घर बिग्रिएको समाचार आउँछ । समाचारमा उषाले जिपीलाई डिभोर्स दिएको उल्लेख भएपछि जिपी आश्चर्यचकित हुन्छन् । उषा पनि डिभोर्स यत्ति हल्का हुन्छ र ? भन्दै त्यो समाचार लेख्ने पत्रकारलाई मानहानी गरेको मुद्दा हाल्ने प्रतिक्रिया सञ्चार माध्याममा दिन्छिन् । त्यो बेला वास्तविकता बुझ्न पत्रकारले जिपीलाई सोध्दा यो आफ्नो नितान्त व्यक्तिगत मामला भएकाले केही बोल्न नचाहने र डिभोर्स पनि हल्ला मात्र भएको बताउँछन् ।

तर ‘हावा नलागी पात हल्लिदैन’ भनिएझैं पत्रकारहरुले कुरोको चुरो बुझ्ने प्रयास गर्दै जाँदा उषाले २०७६ असारमा भक्तपुर जिल्ला अदालतमा एकपक्षीय रुपमा डिभोर्स दिएको भेटियो । तर उता अदालतमा जिपीसँग छोडपत्र गरेकी उषा यता भने जिपीले पसिना बगाएर जोडेको घरमै राज गर्दै आएको पाइयो ।

असार महिनामा अदालतमा दिएको एकपक्षीय डिभोर्सको निवेदनसँगै दुई बच्चा जिपीले पाल्नुपर्ने गरी आफूलाई कुल सम्पत्तिको एक भाग भराइ पाउँ भनेर माग दावी गरिएको पनि पत्ता लाग्यो । महानगरीय प्रहरी वृत्त भक्तपुरका अनुसार उनीहरुबिच ३/४ पटक त्यहाँ यस सन्दर्भमा लेखापढी नै भएको देखिन्छ ।

एक अपरिचित व्यक्तिको अचानक प्रवेश
यसबिचमा उषा र जिपीको लफडामा अचानक अजय शर्मा नाम गरेका एक अपरिचित व्यक्ति प्रवेश गरे । उनले बेला बेला जिपीलाई फोनमा थर्काउने र धम्काउने गर्थे । तर विनाकारण कुनै पनि सम्बन्ध वा लेनदेन नरहेको व्यक्तिले आफूलाई धम्काउन थालेपछि जिपी बल्ल सतर्क हुन थाले । अजय शर्माले आफुलाई धम्काउने क्रम बढ्न थालेपछि सुरक्षा थ्रेट महशुस गर्दै जिपीले प्रहरीमा निवेदन दिए । आफू उषाको फ्यान भएको बताउने अजयले प्रहरीमा आएर आइन्दा नधम्काउने सहमतिसमेत गरे ।

महानगरीय प्रहरी वृत्त भक्तपुरका प्रहरी नायब निरीक्षक शान्ती कोइरालासँगको कुराकानीमा उहाँले तिमिल्सिनाले जिपीले शान्तिसुरक्षाको माग गर्दै हालेको निवेदनको आधारमा अजय शर्मालाई वृत्तमा झिकाएर सहमति गरेर छाडिएको बताए । तर अजय शर्मा किन जिपीलाई धम्काउने गर्थे वा किन जिपीको परिवारको बिचमा आउँथे भन्ने चाहिँ आफूलाई पनि थाह नभएको कोइरालाको भनाई छ । मिलापत्रका क्रममा अजय शर्मा भन्ने व्यक्तिले अबदेखि नधम्क्याउने भनेर माफिसमेत मागेको उहाँले बताउनुभयो । मिलापत्रपछि शर्माले प्रहरी वृत्तबाट उन्मुक्ति पाएका थिए । अजय शर्मा बारम्बार भिलेनको रुपमा उनीहरुको बिचमा आइरहनु र उषाले पनि उनलाई बढी महत्व दिनुले दुई सन्तानको भविष्य अन्यौलमा परेको एक खड्का थरका छिमेकीले बताएका छन् ।

प्रहरीमा त्यस्तो सहमति गरिएपनि यता जिपीलाई भने झन झन खतरा महशुस हुँदै गयो । एउटै घरमा भएपनि उषा र जिपी अलग अलग बस्ने गरेको लामो समय बितेको थियो । जुन उनले आफ्नो बुवाआमा र दाजुभाईलाई समेत बताएका थिएनन् । एकातिर अदालतमा श्रीमतीको डिभोर्सको निवेदन त अर्कोतिर अपरिचित व्यक्तिको निरन्तरको भयपछि जिपीले घरमै ३ महिना सेक्युरिटि गार्ड राखेर समेत गुजारे ।

स्रोतका अनुसार उषा र ती अजय शर्मा आजभोली सँगसँगै हुने गर्दछन् । सामाजिक सञ्जालमा उनीहरुले पोष्ट गरेका तस्बीरबाट पनि यो कुराको पुष्टि हुन्छ । कान्तिपुर टेलिभिजनको एक ‘लेट मी इन’ विज्ञापनमा पनि उनीहरु मिलेर भूमिका निर्वाह गरेका पाइएको छ । जिवनमा सँगै ज्यूने मर्ने वाचा कसम खाएको श्रीमानलाई त्यसरी अदालतमा मुद्दा हालेकी उषाले ०७६ को असार २३ गते दरबारमार्ग बोलाएर तीनै अजय शर्मासँग जन्मदिन मनाएको थाह पाएपछि जिपी त झन झस्किन पुगे ।

यसरी निस्किए एकाएक घरबाट
मान्छेहरुको जिवनमा विडम्बना पनि कस्ता कस्ता आउँदा रहेछन भने आफैले दश नङ्ग्रा खियाएर बनाएको घरमा पनि छोडपत्र गरेकी श्रीमतीको त्रासका माझ जिपी लामो समय बस्नुपर्यो । आफ्ना बालबच्चाको लालनपालन तथा शिक्षा दिक्षा के कसो हुने हो ? भन्ने चिन्ताले ग्रस्त भएर होला उनले लामो समय जसोतसो व्यतित गरे । कुनै एक्शन उनले कहिल्यै किन लिन सकेनन भने उनी आफ्ना कारणले छोराछोरीलाई मानसिक तनाव नहोस भन्ने अझै पनि चाहन्छन् । पछिल्लो समय उषाको माग अनुसार उनको सुख, सयल र बच्चाहरुको शिक्षा दिक्षाको सम्पूर्ण खर्च बेहोर्नेदेखि लिएर मासिक ३० हजार दिइरहेका छन् ।

तर उषालाई भने कुल जेथाको १ भाग र मासिक ३० हजारले पनि पुगेन । त्यसैले उनले कुल अंशको ३ भाग माग दावी गरेर अंश चाहियो भन्दै यतिबेला फेरि उजुरी हालेकी छन् । त्यस्तै उता अजय शर्मासँगको उनको सम्बन्ध पनि पुरानै रफ्तारमा चलिरहेको छ ।

यसरी उषा फेरि अदालत पुगेपछि जिपी भने छोराछोरीलाई कुनै अफ्ठ्यारो नहोस भनेर जीवनको एक सपना आफ्नो घर नै छोडेर निस्किएका हुन् । केही दिन अघि अर्थात फागुनको अन्तिम सातामात्रै छरछिमेकी र साथिभाइसँग तनावका कारण भन्दै व्यवसाय नै अन्त सारेर जिपी घरबाट हिँडेका छन् । १६ वर्षकी छोरी र यो घटनाबारे बुझ्ने उमेर नै नभएका ६ वर्षीय छोरा भने उषासँगै बस्ने गरेका छन् ।

यो घटनाले समाजको उपल्लो वर्गकी महिलाहरुले कसरी पुरुषमाथि हिंसा गरिरहेका छन् भन्ने कुरा छर्लङ्गै मात्रै बनाउँदैन, यो दुर्दशा भोगिरहेको हाम्रो समाज कता जाँदैछ भन्ने गम्भीर प्रश्नसमेत उब्जाउँछ । समाजमा महिलाहरुले जस्तो गल्ती गर्दा पनि दोष नदेख्ने तर पुरुषले केही नगर्दा समेत अनाहकमा बर्बादी भोग्नुपर्ने उदारहण बढ्दै गएका छन् ।

कतिपय महिलाहरु धनको लोभ तथा आफ्नो सुन्दरताको घमण्डले पनि घरबार नै ध्वस्त बनाइरहेका भेटिन्छन् । यतिमात्रै होइन, श्रीमान विदेश भएका कतिपय महिलाहरुले त श्रीमान विदेश रहुन्जेल स्वदेशमा उसको पैसामा मोजमस्ती गर्ने र स्वदेश फर्कने बेलामा अर्कैसँग हिंडेका कयौं उदाहरणहरु प्रहरी चौकिका कयौं पाइन्छन् । विदेशबाट घरमा श्रीमती र छोराछोरीसँग समय बिताउन आउनेहरुले श्रीमतीको बदमासीका कारण प्रहरी चौकीमा लफडामा फस्नु परिरहेको पाइन्छ भने सुन्दर घर नै उजाडिएको वियोग बेहोनुपर्ने गरेको छ ।

हाम्रो समाज पनि गजवकै छ, तथ्य नै नबुझि हल्लामा विश्वास गर्ने गरिन्छ । सरकार तथा कानुनका निर्माताहरुले पुरुषहरुमाथि पर्ने यस्ता दुखद घटनाबारे समयमै ध्यान नदिए यो एक सामाजिक विकृति नै बन्ने खतरा छ ।

पूर्व मिस नेपाल उषा खड्गीको वेग्लै गुनासो


पूर्वमिस नेपाल उषा खड्गी १६ वर्ष जीपीसँगै गुजारेपछि अब सँगै वस्न नसक्ने भनि डिभोर्सका लागी भक्तपुर जिल्ला अदालत पुगेकी हुन् । उनले हिंसा सहन नसकेर डिभोर्समा पुगेको बताएकी छिन् । उनले सम्पत्ती न्यूजसँग प्रतिक्रीया दिदै भनिन् “हिंसा सहन नसकेर म यो निर्णयमा पुगेकी हुँ । मलाई अरु भन्नु केही छैन ।”


उनले सम्पत्ती न्यूजमा पोष्ट गरेको समाचारप्रति आक्रोस समेत जनाएकी छिन् । उनले भनिन् “सक्नुहुन्छ भने यो न्यूज डिलिट गरिदिनु । होइन भने मेरो लडाइ म आफै लड्छु ।”


“जीपीलाई धम्की दिने अजय शर्मा को हुन् र किन धम्की दिएका हुन ?” भन्ने सम्पत्ती न्युजको प्रश्नमा उनले यो उनीहरुको निजी मामला भएको र यसमा आफु पर्न नचाहेको बताइन । “उनीहरुको निजी मामला हो । यसमा मलाई पर्नु छैन ।” उनले भनिन् ।

प्रकाशित मिति:March 17, 2020