पाँच दलीय गठबन्धन आगामी तीनै तहको निर्वाचनसम्म

  Sampatti News

November 24, 2021

पाँच दलीय गठबन्धन आगामी तीनै तहको निर्वाचनसम्म

धनगढी-नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी तीनै तहको निर्वाचनसम्म पाँच दलीय गठबन्धन कायम रहने दाबी गरेका छन् ।

आन्तरिक रुपमा सबैले गठबन्धन चाहेको बताउदै प्रचण्डले काँग्रेसका केही नेताले ‘महाधिवेशनमा भोट पाउन मात्रै गठबन्धन हुँदैनुभन्ने गरेको बताएका छन् ।

बुधबार धनगढीमा पत्रकारसँगको कुराकानिमा नेता दाहालले उक्त कुरा बताएका हुन् ।

प्रचण्डले भने,‘काँग्रेस महाधिवेशनमा भोट बढी आउला भनेर केही नेताले गठबन्धन हुँदैन भन्ने गरेका छन्,’ पार्टीको कार्यक्रममा सहभागी हुन बुधबार धनगढी पुगेका प्रचण्डले भने, ‘तर भित्री रुपमा गठबन्धन नगरी हुँदैन भन्ने ती नेताले पनि राम्ररी बुझेका छन्, त्यसैले तीनै तहको निर्वाचन सम्म गठबन्धन हुन्छ, त्यसका लागि अहिले सवै दलबीच राम्रो समझदारी बनेको छ ।’

पाँच दलीय गठबन्धनलाई थप बलियो बनाउन राजनीतिक संयन्त्र बनेको उनले बताए ।

प्रचण्डले राष्ट्रिय सभाको रिक्त पदमा पाँच दलीय गठबन्धनले तालमेल गर्ने बताए ।

‘राष्ट्रिय सभाको निर्वाचनमा पाँच दलले संयुक्त उम्मेदवार बनाउने पक्का भएको छ,’ अध्यक्ष प्रचण्डले भने, ‘त्यो तालमेल आगामी अन्य चुनावका लागि बलियो आधारसमेत बन्ने छ ।’

प्रकाशित मिति:November 24, 2021