पर्यटन बोर्डका सीईओ बसेको मञ्चमा मन्त्री आले बस्न नमानेपछि सीईओ मञ्चबाट बाहिर

Nepal Cover
२१ मंसिर २०७८, मंगलवार
image

पर्यटन बोर्डका सीईओ बसेको मञ्चमा मन्त्री आले बस्न नमानेपछि सीईओ मञ्चबाट बाहिर

पोखरा-पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले मगरले नेपाल पर्यटन बोर्डका सीईओ धनन्जय रेग्मीलाई मञ्चबाट बाहिर निकालेका छन् ।

नेपाल पर्यटन बोर्डका सीईओ धनन्जय रेग्मी बसेको मञ्चमा मन्त्री प्रेम आले बस्न नमानेपछि रेग्मी मञ्चबाट बाहिर निकालिएका हुन् ।

सरकारी कर्मचारीलाई दुव्यवहार गरेपछि पर्यटन मन्त्रालयबाट स्पष्टिकरण सोधिएका रेग्मी शनिबार पोखरा पर्यटन परिषदको कार्यक्रममा विशिष्ठ अतिथिको रुपमा भाग लिन आइपुगेका थिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तोकिएभन्दा बढि रक्सी ल्याउन नदिएको भन्दै उनले सरकारी कर्मचारीलाई दुव्यवहार गरेपछी पर्यटन मन्त्रालयले उनलाई स्पष्टिकरण सोधेको थियो ।

मन्त्री आउनुअघि नै रेग्मी मञ्चमा गएर बसिरहेका थिए । रेग्मीलाई देखेपछि मन्त्री आलेमगरको पारा तातेर आयो मन्चबाट बाहिर निस्किएर आयोजकलाई हस्काउँदै ‘रेग्मीलाई किन बोलाएको ? उसलाई नहटाए कार्यक्रममा म बस्दिन’ भनेर चेतावनी दिएपछि आयोजकले रेग्मीलाई कार्यक्रमस्थलबाट बाहिर निकालेका थिए ।

रेग्मीलाई एमालेका तत्कालिन पर्यटनमन्त्री योगेश भट्टराईले नियुक्त गरेका हुन् ।

मन्त्री आलेले उनलाई राजीनामा दिन पटक पटक संकेत गरे पनि रेग्मीले आनाकानी गर्दै आएका छन् ।

उनीहरुबीचको मनमुटाव सार्वजनिक कार्यक्रममा देखिएको छ । मन्त्रीका कारण रेग्मी अपमानितरुपमा कार्यक्रमस्थलबाट निकालिएका छन् ।

आफूले कारवाहीका लागि स्पष्टिकरणका लागि सोधेको व्यक्तिलाई बोलाएको भन्दै आलेले आयोजकसँग असन्तुष्टि पोखेका थिए ।

उनले विवादित व्यक्ति विशिष्ट अथिति हुन नसक्ने भन्दै रेग्मीलाई राख्ने भए आफू कार्यक्रम छोडेर जाने चेतावनी दिएपछि आयोजकले बाध्य भएर रेग्मीलाई बाहिर निकालेका थिए ।

पोखरा आएका मन्त्री आलेले निर्माणाधिन पोखरा विमानस्थलदेखि अन्य विभिन्न क्षेत्रको अवलोकन र निरीक्षण गरेका छन् ।

बेलायतबाट फर्किने क्रममा रेग्मीले विमानस्थलमा देखाएको आक्रोसको भिडियो सामाजिक सञ्जालमा समेत सार्वजनिक भएको थियो ।