उच्च शिक्षा आर्थिक हैसियत भएका सीमित वर्गले मात्रै पाए: प्रम देउवा

  Sampatti News

December 20, 2021

उच्च शिक्षा आर्थिक हैसियत भएका सीमित वर्गले मात्रै पाए: प्रम देउवा

काठमाडौँ-त्रिभुवन विश्वविद्यालयका कुलपती तथा प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा त्रिभुवन विश्वविद्यालयको ४७ औँ दीक्षान्त समारोह सम्पन्न भएको छ ।

त्रिभुवन विश्वविद्यालय परिक्षा नियन्त्रण कार्यालय वल्खुमा आयोजना भएको दिक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले मुलुकको लोकतान्त्रिक प्रणालीलाई सबल र सुदृढ बनाउन तथा मुलुकको अर्थतन्त्रलाई तीव्र रूपान्तरण गर्न सिर्जनात्मक, परिवर्तनशील र युग सुहाउँदो वैज्ञानिक र प्राविधिक जनशक्तिको उत्पादन हुने किसिमको हुनुपर्ने बताएका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वविद्यालयको शिक्षा औपचारिक र सैद्धान्तिक मात्रै नभएर व्यवहारिक, जीवनोपयोगी र समाजको विकास र रूपान्तरणमा सहयोगी हुनुपर्नेमा जोड दिएका छन् ।

‘यस सन्दर्भमा आजको प्रतिस्पर्धी विश्व शैक्षिक बजारमा विश्वविद्यालयले युग सापेक्ष शैक्षिक तथा व्यवस्थापकीय सुधार गर्दै अघि बढ्न आवश्यक छ’। प्रधानमन्त्री देउवाको भनाइ छ ।

प्रधानमन्त्री देउवाले मुलुकको शिक्षा व्यक्तिको जीवन, राष्ट्रको उन्नति र समग्र समाजको सकारात्मक परिवर्तनका लागि हुनुपर्ने भन्दै त्यस्तो शिक्षा प्रदान गर्ने अवसर सबैलाई समान रूपमा सुनिश्चित हुनुपर्ने समेत बताएका छन् ।

प्रधानमन्त्री देउवाले कतिपय विकसित मुलुकमा आधारभूत शिक्षामात्र निःशुल्क नभई विश्वविद्यालय स्तरको शिक्षा समेत सर्वसुलभ बनाएको भन्दै विद्यार्थीले सिकेको ज्ञान सिर्जनात्मक ढङ्गले प्रयोग गर्न राज्यले सबैलाई आवश्यक वातावरण बनाइदिएको बताएका छन् ।

उनले उच्च शिक्षामा अझै पनि आर्थिक हैसियत भएका सीमित र वर्ग र समुदायले मात्रै पाएको भन्दै सरकार त्यो मान्यता तोड्न चाहिरहेको बताए ।

‘हाम्रो सन्दर्भमा पनि आर्थिक हैसियत भएका सीमित वर्ग र व्यक्तिहरूको मात्र उच्च शिक्षामा पहुँच हुनुहुँदैन भन्ने सरकारको मान्यता रहेको छ’, प्रधानमन्त्रीले भने, ‘समाजका सबै वर्ग र समुदायले सहज र सुलभ रूपमा उच्च शिक्षा प्राप्त गरी आफ्नो प्रतिभा र सिर्जना राष्ट्र र समाजका लागि उपयोग गर्न सक्ने वातावरण सिर्जना गर्नु आज हाम्रो राष्ट्रिय दायित्व हो ।’

उच्च शिक्षा आर्थिक हैसियत भएका सीमित वर्गले मात्रै पाए: प्रम देउवा

प्रकाशित मिति:December 20, 2021