December 22, 2021
किबीका बिरुवा भूटान निर्यात
झापा-पूर्वीनाका काँकडभिट्टाबाट किबीको बिरुवा भूटान निर्यात हुन थालेको छ ।
इलाममा उत्पादित किबीको बिरुवा भूटान निर्यात गरिएको हो ।
भूटानले किबीखेतीमा किसानलाई प्रोत्साहन गरेपछि यसको बिरुवाको माग भएको झापास्थित प्लान्ट क्वारेन्टिन कार्यालयका प्रमुख देविन्द्र साहुले बताउनुभयो ।
रु एक लाख १५ हजार बराबरको एक हजार २०० वटा किबीको बिरुवा भूटान निकासी भएको छ ।
“चालु आवमा पहिलोपटक किबीको बिरुवा पूर्वीनाका हुँदै निर्यात भएको हो”, उनले भने ।
किबी फलको आयात भारतबाट भइरहेका बेला इलामका किसानले उत्पादन गरेको सोही फलको बिरुवा निर्यात हुनु सुखद कुरा भएको साहुले बताए ।
उनले भने, “यसबाट किसानमा उत्साह थपिन्छ ।” यसअघि आव २०७४/७५ मा १०० र आव २०७५/७६ मा किबीका २०० वटा बिरुवा भारत निर्यात भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
इलाममा एक दशकअघि किबीखेती सुरु गरिएकामा हाल उक्त खेती २० हजार रोपनीमा विस्तार भएको छ ।
विगत लामो समयदेखि किबीको नर्सरी सञ्चालन गर्दै आएको हिस्ट्री किबी प्रालिले बङ्गालादेश र भारतका विभिन्न ठाउँमा किबीको बिरुवा निर्यात गर्दै आएको सञ्चालक पार्वती खतिवडाले बताईन ।
पाँच वर्ष अघिदेखि किबीको बिरुवा भूटान निर्यात गर्दै आएको उहाँको दाबी छ ।
समुद्र सतहको ८०० मिटरदेखि दुई हजार ९०० मिटरको उचाइसम्म किबीखेती हुने गरेको छ ।
“यस वर्ष १० हजारभन्दा बढी बिरुवा बिक्री भइसकेको छ”, खतिवडाले भनिन् ।
किबीका बिरुवा भूटान निर्यात
प्रकाशित मिति:December 22, 2021