गृहद्वारा विषयगत क्षेत्रको सुधारका प्रयास सुरु

  Sampatti News

December 22, 2021

गृहद्वारा विषयगत क्षेत्रको सुधारका प्रयास सुरु

काठमाडौँ-गृह मन्त्रालयले मातहत निकायका विविध क्षेत्रको सुधारका लागि प्रयास थालेको छ ।

मन्त्रालयका प्रवक्ता सहसचिव प्रदीपकुमार कोइरालाले कमीकमजोरी पहिल्याउँदै त्यसको समाधानका लागि के गर्न सकिन्छ भनेर छलफल सुरु भएको जानकारी दिनुभयो ।

“यसको मुख्य उद्देश्य सुधारको क्षेत्र पहिचान गर्नु हो”, प्रवक्ता कोइरालाले भन्नुभयो, “त्यसपछि योजना बनाएर कार्यान्वयनमा लगिन्छ ।”

उहाँका अनुसार गृहमन्त्री बालकृष्ण खाँण र गृहसचिव टेकनारायण पाण्डेको योजना र निर्देशनबमोजिम अहिले विभिन्न क्षेत्रसँग सुझाव सङ्कलन थालिएको छ ।

आजमात्रै उपत्यकामा सुरक्षा विधा लिएर समाचार लेख्दै आएका पत्रकारसँग सुझाव लिइएको थियो ।

आजको छलफलमा पत्रकारले अध्यागमन विभाग, कारागार व्यवस्थापन, अपराध नियन्त्रण, शान्तिसुरक्षा, सीमा व्यवस्थापन, नागरिकता, राष्ट्रिय परिचयपत्र, शरणार्थी समस्या, विपद् व्यवस्थापन, लागुऔषध नियन्त्रणलगायत विषयमा सुझाव दिनुभएको थियो ।

उहाँहरुले आधुनिक प्रविधिको प्रयोग र दक्ष जनशक्तिमार्फत विषयगत क्षेत्रको सुधारको खाँचो रहेको औँल्याउनुभएको थियो ।

छलफलमा पत्रकारले आवश्यक परेको खण्डमा नीतिगत व्यवस्था गरेरै भए प्रभावकारी नियमन जरुरी रहेको औँल्याउनुभएको छ ।

छलफलमा कारागारमा क्षमताभन्न्दा बढी कैदीबन्दी रहेको, खुला कारागारको योजना प्रभावकारीरुपमा कार्यान्वयन हुन नसकेको औँल्याउनुभएको थियो ।

सीमापार अपराध तथा सामाजिक सञ्जालबाट हुने अपराध निणन्त्रण प्रभावकारी हुन नसकेको औँल्याइएको छ ।

यस्तै पछिल्लो समयमा लागुऔषध प्रयोग र ओसारपसार बढ्दो क्रममा रहेकाले त्यसको नियमन तथा सचेतनाका कार्यक्रम प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याइएको छ ।

मन्त्रालयका अनुसार कारागारमा रहेका कैदीबन्दीमध्ये २१ प्रतिशत लागुऔषध मुद्दाका रहेका छन् ।

त्यसमा पनि १४ वर्षदेखि २१ वर्षका व्यक्ति बढी छन् ।

छलफलमा मन्त्रालयको नीति योजना अनुगमन तथा मूल्याङ्कन महाशाखाका प्रमुख भीष्मकुमार भुसालले गृह प्रशासन सुधार योजना २०७८ ल्याउन लागिएको बताउनुभयो ।

समग्र मन्त्रालय मातहतका निकायलाई प्रभावकारी बनाउन कस्ता सुधारात्मक कार्यक्रम आवश्यक छ भन्ने विषयमा आवश्यक प्रक्रिया अघि बढाइएको पनि जानकारी दिनुभयो ।

आएका सुझावका आधारमा नीति तथा योजना तर्जुमा गरी कार्यान्वयनमा लगिने भुसालले बताउनुभयो ।

यसअघि पनि मन्त्रालयले गृह प्रशासन सुधार योजना २०७४ लागू गरेको थियो ।

गृहद्वारा विषयगत क्षेत्रको सुधारका प्रयास सुरु

प्रकाशित मिति:December 22, 2021