मन्त्री स्तरीय निर्णयबाट १५ सहसचिवको सरुवा
काठमाडौँ-नेपाल सरकार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १५ सहसचिवको सरुवा गरेको छ ।
बुधवार मन्त्री स्तरीय निर्णयबाट सङ्घ, प्रदेश तथा स्थानीय तहका कार्यरत सहसचिवहरूको सरुवा गरिएको हो ।
काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मधेसी आयोगका लोकनाथ पौडेललाई ल्याईएको छ भने महानगरका राजेश्वर ज्ञवालीलाई मन्त्रालयमै अतिरिक्तमा झिकाईएको छ ।
सहसचिवहरूमा मन्त्रालयको अतिरिक्त समूहका रहेका देवराज जोशी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, आदिवासी जनजाति आयोगका भोला दाहाल अक्तियार दुरुपयोग अनुसन्धान आयोग, आयोगका नीराजन घिमिरेको दलित आयोगमा सरुवा भएको छ ।
यसैगरी सङ्घीय सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा यमुना प्रधानलाई तानिएको छ भने अर्थ मन्त्रालयमा सचिव कमल भट्टराईलाई ल्याईएको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रशासन महाशाखा प्रमुख राजीव पोखरेलको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा भएको छ भने उनको ठाउँमा सोही मन्त्रालयको अतिरिक्तमा रहेका रघुराम विष्टलाई ल्याइएको छ ।
यस्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव शङ्कर नेपाललाई प्राकृतिक स्रोत तथा वित्त आयोग, कलैया उपमहानगरपालिकाका तीर्थ चिलवालको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव ध्रुव गैँडाको बागमती प्रदेशको युवा तथा खेलकुद मन्त्रालय र नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीको बागमती प्रदेशको उद्योग मन्त्रालयमा सरुवा भएको छ ।
मन्त्री स्तरीय निर्णयबाट १५ सहसचिवको सरुवा