January 3, 2022
धान उत्पादन पाँच वर्षयताकै कम
काठमाडौँ-चालू आर्थिक वर्ष २०७८/७९ मा धान उत्पादनमा कमी आएको छ ।
कृषि तथा पशुपक्षी विकास मन्त्रालयले विगत पाँच वर्षयताकै धान उत्पादनमा कमी आएको जनाएको हो ।
मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष २०७७/७८ को तुलनामा चालू आवमा धान उत्पादनमा ८.७४ प्रतिशतले कमी आएको हो ।
चालू आवमा ५१ लाख ३० हजार मेट्रिक टन धान उत्पादन भएको हो ।
गत आवमा ५६ लाख २१ हजार मेट्रिक टन धान उत्पादन भएको थियो ।
यस्तै आव २०७६/७७ मा ५५ लाख ५० हजार ८७८, आव २०७५/०७६ मा ५६ लाख १० हजार
यस्तै २०७४/७५ मा ५१ लाख ५१ हजार ९२५ मेट्रिक टन धान उत्पादन भएको थियो ।
गत वर्षको तुलनामा मन्त्रालयले यसवर्ष धान उत्पादनमा वृद्धि हुने अनुमान गरेको थियो ।
तर पनि धान थन्काउने बेलामा वर्षा र हावाहुरीका कारण धानमा क्षति पुग्दा उत्पादनमा कमी आएको मन्त्रालयका प्रवक्ता प्रकाश सञ्जेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार सुदूरपश्चिमका कैलाली र कञ्चनपुर तथा लुम्बिनी प्रदेशका बर्दिया, बाँके, कपिलवस्तुलगायत विभिन्न जिल्लामा बैमौसमी वर्षाले किसानको धानमा क्षति पुर्याउदा समग्र राष्ट्रिय धान उत्पादनमा कमी आएको हो ।
यसवर्षको बेमौसमी वर्षाले मुलुकभरका एक लाख ११ हजार ६०९ हेक्टरमा लगाइएको चार लाख २४ हजार ११३ टन धानबालीमा क्षति पुर्याएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत आर्थिक वर्षको तुलनामा सुदूरपश्चिम प्रदेशमा धान उत्पादनमा कमी आएको छ ।
उक्त प्रदेशमा चार लाख ४१ हजार ९१३ मेट्रिक टन धान उत्पादन भएको हो ।
गत आवको तुलनामा ३१.४९ प्रतिशतले उत्पादनमा कमी आएको छ ।
यस्तैगरी लुम्बनी प्रदेशमा १८.३८ प्रतिशत, प्रदेश नं १ मा ०.९३ प्रतिशत, प्रदेश नं २ मा ५.२४ प्रतिशत उत्पादनमा कमी आएको छ ।
त्यस्तै बागमती प्रदेशमा ०.३५ प्रतिशत र कर्णालीमा ८.७६ प्रतिशतले उत्पादनमा कमी आएको छ ।
प्रदेशगत रुपमा धान उत्पादनको अवस्था हेर्दा गत आवको तुलनामा यसवर्ष गण्डकी प्रदेशबाहेक अन्य प्रदेशमा धान उत्पादन घटेको छ ।
चालू आवमा गण्डकी प्रदेशमा मात्र २.३३ प्रतिशतले धान उत्पादनमा वृद्धि भएको मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।
यसवर्ष धान रोप्ने समयमा नै मनसुन सक्रिय हुँदा १४ लाख ७७ हजार ३७८ हेक्टर क्षेत्रफलमा धान रोपिएको थियो ।
धान उत्पादन पाँच वर्षयताकै कम
प्रकाशित मिति:January 3, 2022
November 24, 2024