January 13, 2022
शिक्षकलाई एक लाख प्रोत्साहन भत्ता
तानसेन नगरपालिकाले स्वेच्छिक अवकाश गर्ने शिक्षकलाई रु एक लाख प्रोत्साहन भत्ता प्रदान गर्न थालेको छ ।
शिक्षक दरबन्दी मिलानमा समस्या देखिएपछि नगरपालिकाले प्रावि तहका १० शिक्षकलाई प्रोत्साहन सुविधा प्रदान गर्न थालेको हो ।
राजीनामा स्वीकृत भएपछि अवकाश गर्ने शिक्षकले रु एक लाख प्रोत्साहन भत्ता पाउने भएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले बालविकास सहजकर्तालाई मासिक रु हजार पारिश्रमिक उपलब्ध गराउन थालेको छ ।
यसैबीच विद्यालयका सहयोगी, सहायक कर्मचारी, बालविकास सहजकर्ता र सामुदायिक सिकाइ केन्द्रमा कार्यरत परिचालकको न्यूनतम पाश्रिमिक मासिक रु १५ हजार उपलब्ध गराउन थालिएको नगर प्रमुख अशोककुमार शाहीले बताउनुभयो ।
यसअघि बालविकास सहजकर्ताको पारिश्रमिक रु छ हजार ५०० रहेको थियो ।
न्यूनतम पारिश्रमिकमा दिनभर ससाना बालबालिकालाई पठनपाठन गराउनुपर्ने बाध्यता रहेको थियो ।
बालविकास सहजकर्ताको तलब पुनरावलोकन समितिको गत कात्तिक १५ गतेको बैठकको निर्णयअनुसार नगरपालिकाले पारिश्रमिक बढाएको हो ।
नगरपालिकाले रु ९४ लाख ५१ हजार थप गर्ने निर्णय गरेको हो ।
नपुग रकम कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चबाट भुक्तानी गर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाभित्र सहयोगी, सहायक कर्मचारी, बालविकास सहजकर्ता र सामुदायिक सिकाइ केन्द्रमा कार्यरत परिचालक ११८ र बालविकास सहजकर्ता ४६ जना रहेका छन् ।
आर्थिक वर्ष २०७७/०७८ मा कर्मचारी तथा बालविकास सहजकर्ताका लागि वार्षिक रु एक करोड १८ लाख बराबर खर्च भएको थियो ।
प्रकाशित मिति:January 13, 2022
November 24, 2024