त्रिविका सबै कक्षा र परिक्षा अनलाइन बाटै

  Sampatti News

January 23, 2022

त्रिविका सबै कक्षा र परिक्षा अनलाइन बाटै

काठमाण्डौ–त्रिभुवन विश्वविद्यालयले आफु मातहतका सबै क्याम्पसलाई माघ ११ गतेबाट अनलाइन कक्षा सञ्चालन गर्न निर्देशन दिएको छ ।

कोरोना सङ्क्रमण बढेका कारण हरेक क्याम्पसले ११ गतेदेखि अनलाइन कक्षा सञ्चालन गर्नुपर्ने निर्णय त्रिवि कार्यकारी परिषद्ले गरेको हो ।

यसका लागि भोलि सोमवार १० गते अनलाइन कक्षाको रुटिन बनाएर सम्बन्धित डिनको कार्यालयमा पठाउन समेत त्रिविले निर्देशन दिएको छ ।

परिषद्को बैठकले अनलाइन कक्षा व्यवस्थित गर्नका लागि हरेक क्याम्पसका सहायक प्रमुखको संयोजकत्वमा बढीमा सात सदस्यीय अनलाइन कक्षा व्यवस्थापन समिति गठन गर्न समेत निर्देश गरेको छ ।

त्रिवि कार्यकारी परिषद्को बैठकले सबै विभागले विभागीय प्रमुखको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरी अबश्यक निर्णय गरेर कोभिडको समयमा पठन पाठन सुचारु गर्न सुझाएको छ ।

परिषद्ले भौतिक उपस्थितमा गर्नुपर्ने प्रयोगात्मक परीक्षा, अभ्यास शिक्षण र इन्टर्नशिप लगायतका क्रियाकलाप स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर गर्न सकिने बताएको छ ।

अनलाइन कक्षा व्यवस्थित भए नभएको अनुगमन गर्न डिनको संयोजकत्वमा अनलाइन कक्षा अनुगमन समिति पनि बन्ने त्रिविले जनाएको छ ।

यस्तै अनलाइन पठनपाठन र परीक्षासम्बन्धी शिक्षकहरूलाई तालिम दिने र त्यसको विवरण सबै क्याम्पस, विभाग, अध्ययन संस्थानहरूले डिन कार्यालय पेस गर्नुपर्नेछ ।

अनलाइनमा तोकेको कक्षा लिने शिक्षकको हाजिरी अनलाइनबाटै हुने भएको छ ।

चिकित्साशास्त्र अध्ययन संस्थानका अन्तर्गतका परीक्षा स्वास्थ्यको मापदण्ड पालना गरेर अध्ययन संस्थानबाटै निर्णय गरेर सञ्चालन गर्ने, विद्यार्थीको आन्तरिक मूल्याङ्कन अनलाइनको माध्यमबाट गराउने तथा सबै संकाय र संस्थानले अनलाइनबाट परीक्षा लिने ढाँचा र कार्यविधि तयार गर्ने र कार्यविधिमा आन्तरिक मूल्याङ्कन र अन्तिम परीक्षाको सम्बन्धमा आवश्यक व्यवस्था गर्न पनि त्रिविले निर्देशन दिएको छ ।

त्रिविले सबै क्याम्पसलाई प्रशासनिक सेवा बन्द नगर्न र सकभर घरबाटै काम गर्ने वातावरण मिलाउन पनि निर्देशन दिएको छ ।

त्रिविका सबै कक्षा र परिक्षा अनलाइन बाटै

प्रकाशित मिति:January 23, 2022