शिक्षककाे सुविधा निजामती कर्मचारी सरह हुने : मन्त्री पौडेल

  Sampatti News

February 8, 2022

शिक्षककाे सुविधा निजामती कर्मचारी सरह हुने : मन्त्री पौडेल

बागलुङ-शिक्षककाे सेवासुविधा निजामती कर्मचारी सरह हुने भएकाे छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षकलाई पनि निजामती कर्मचारी सरहनै सेवासुविधा उपलब्ध गराउने बताएका हुन् ।

ताराखोला गाउँपालिकाद्वारा आयोजित शैक्षिक अन्तर्क्रियामा बाेल्दै शिक्षामन्त्री पाैडेले उक्त कुरा बताएका हुन् ।

उनले भने ‘अब सेवा सुविधा र अवसरमा शिक्षकलाई विभेद गरिदैन ।’,‘यस विषयमा मन्त्रालयले निर्णय गरिसकेको छ, आउँदो बजेट, कार्यक्रमपछि कार्यान्वयनमा आउँछ’, मन्त्री पौडेलले भने, ‘अर्थ मन्त्रालय र अरु निकायसँग पनि समन्वय भइरहेको छ ।’

कर्मचारी र शिक्षकको कार्यविभाजन फरक भए पनि तह र सुविधा एउटै हुने मन्त्री पौडेलले बताए ।

शिक्षकको वृत्ति विकासमा शिक्षा मन्त्रालय संवेदनशील रहेको उनको भनाइ छ । मन्त्री पौडेलले १८ वर्षदेखि रोकिएको शिक्षकको आन्तरिक बढुवाका लागि विज्ञापन खुलाएर प्रक्रिया अगाडि बढाइएको बताए ।

शिक्षक सेवा आयोगको ११औँ संशोधन नियमावली मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि शिक्षक दरबन्दी मिलान, आन्तरिक बढुवा, अध्यापन अनुमति पत्रलगायत कामले गति लिएको उनको भनाइ छ ।

मन्त्री पौडेलले शिक्षक महासङ्घका ३३ बुँदे माग सम्बोधनका लागि मन्त्रालय गम्भीर रहेको बताउँदै कतिपय माग पूरा हुँदै आएको बताए ।

विद्यालय समायोजनको प्रक्रिया अगाडि बढाइएको उल्लेख गर्दै अति न्यून विद्यार्थी भएका विद्यालयको पहिचान गरी अन्य विद्यालयसँग गाभिने उनको भनाइ छ ।

मन्त्री पौडेलले सार्वजनिक शिक्षा सुधारका लागि मन्त्रालयले ५५ बुँदे योजना बनाएर काम थालेको उल्लेख गरे । उनले सङ्घीय शिक्षा ऐन, उच्च शिक्षा ऐन र प्राविधिक शिक्षा ऐन निर्माणमा मन्त्रालयले गर्नुपर्ने काम सकिएको बताउँदै अन्य मन्त्रालयसँग छलफल गरी मन्त्रिपरिषदमा लैजाने तयारी भएको बताए ।

मन्त्री पौडेलले ताराखोलामा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् अन्तर्गतको प्राविधिक शिक्षालय स्थापना गर्ने प्रतिबद्धतासमेत जनाए । उनले ताराखोलामा आधुनिक सुविधायुक्त पुस्तकालय निर्माणका लागि मन्त्रालयमार्फत पहल लिने बताए ।

शिक्षककाे सुविधा निजामती कर्मचारी सरह हुने : मन्त्री पौडेल

प्रकाशित मिति:February 8, 2022