ढालेन्द्रका साना ठूला गरेर १०० भेडा

  Sampatti News

February 22, 2022

बलेवा-तमानखोला गाउँपालिका–२ कटेरी गाउँका ढालेन्द्र छन्त्याल वर्षमा एक दुई पटकमात्रै घरमा पुग्नुहुन्छ ।

उच्च पहाडका जङ्गलमा भेडाको बथानका पछि उहाँको बाँकी दैनिकी चलिरहेको छ ।

वर्षाको समयमा तमानखोलाका उच्च पहाडमा चर्ने उहाँका भेडा हिउँदमा हिउँ परेपछि गलकोट नगरपालिकाको उच्च पहाडमा पुग्छन् ।

तीनै भेडाको पछि लाग्ने ढालेन्द्र र उहाँका साथीको दैनिकी हिउँद र वर्षामा फरक–फरक ठाउँमा चल्ने गरेको छ ।

ढालेन्द्रका साना ठूला गरेर १०० भेडा छन् । अरु सातजना साथीका पनि सोही सङ्ख्यामा भेडा छन् ।

सबैका भेडा एकै ठाउँमा चराउँदा धमिरो लागेको काठजस्तै देखिन्छन् पहाड ।

भेडीगोठका गोठाला ढालेन्द्र पेशामा सन्तुष्ट हुनुहुन्छ ।

साथीभाइ पालो गरेर घरपरिवारको रेखदेख गर्न पाइने, आफ्नै माटो, आफ्नै भाषा र आफ्नासँगै बसेर काम गर्दा हुने आम्दानीले उहाँलाई सन्तुष्ट बनाएको छ ।

लामो समय दुबई, कतार र साउदी अरबको तातो हावामा काम गर्नुभएका ढालेन्द्रले भेडा पाल्न थालेको पाँच वर्ष भयो ।

उहाँजस्तै विदेशमा दुःख भोगेर देशको माटो सम्झेका साथीको सहकार्यमा भेडा पाल्न थाल्नुभएका ढालेन्द्रले सुरुमा रु चार लाख लगानी गर्नुभएको हो ।

अहिले वर्षमा सबै खर्च कटाएर रु तीन लाख आम्दानी हुन्छ ।

“विदेशमा भोगेको दुःख सम्झेर यहाँ मेहनत गरेको छु, आफ्नै परिवारजस्तो लाग्छ भेडीगोठ”, उहाँले भन्नुभयो, “अब विदेश जान्न यतै रमाइलो छ ।”

उनीहरुले एउटा वयस्क भेडालाई रु ३५ हजारसम्ममा बेच्छन् । साना पाठापाठीको पनि रु १० देखि १५ हजार पर्छ ।

“विदेश पुगेपछि गाउँमै केही गर्न सकिन्छ भन्ने बुझेँ”, उहाँले भन्नुभयो, “अहिले थालेको व्यवसायमा सन्तुष्ट छु ।”

भेडापालनका लागि चरण क्षेत्र राम्रो भएकाले तमानखोला गाउँपालिका उपयुक्त क्षेत्र हो ।

अन्य उत्पादन कम हुने, जङ्गल र पाखा धेरै भएकाले यहाँका किसानले मासुजन्य उत्पादनमा ध्यान दिन्छन् ।

भेडाको उन र मासु दुवैबाट किसानले मुनाफा लिने गरेका छन् ।

कटेरी गाउँकै ओम पुनले आफ्नो जीवनको महत्वपूर्ण समय विदेशी माटोमा बिताउनुभयो ।

४८ वर्षीय ओम पुन बहराइन र साउदी अरबको तातो हावामा १२/१२ वर्ष काम गरेर अहिले गाउँ फर्किनुभएको छ ।

विदेशमा कमाएको पैसाले उहाँको पोखरामा घर छ । तर, ओमबहादुर भने तमानको हावापानी सम्झेर गाउँ फर्किनुभएको छ ।

“पोखरा बस्नै मन लागेन, भाइ बसाइँ सरेर गयो, बाबाआमा एक्लै हुनुभयो, अनि म गाउँ फर्किएँ”, उहाँले भन्नुभयो, “यहाँ शिक्षा, स्वास्थ्य र पूर्वाधार नभएर सुविधा सम्पन्न ठाउँ खोज्ने हामी अब यहीँ ती सुविधा पु¥याउन लाग्नुपर्छ ।”

पुनले बहराइनमा रहँदा गाउँकै जनज्योति आधारभूत विद्यालयको सुविधा सम्पन्न भवन बनाउन जग्गाका लागि सहयोग अभियान चलाउनुभएको थियो ।

अभियानमा सङ्कलन भएको रु आठ लाखले जग्गा खरिद गरेर अहिले विद्यालयको पक्की भवन बनेको छ ।

पैतृक सम्पत्ति गाउँकै पाखोबारीमा खेतीपाती गरेर ओमबहादुरले घरखर्च चलाउनुभएको छ ।

जन्मे–हुर्केको ठाउँमा रमेर बाबाआमाको सेवामा खटेका ओमबहादुर विदेशबाट गाउँ फर्केर पाखो बारी कोतर्ने उदाहरण हुनुहुन्छ ।

कटेरिकै चुडामणि छन्त्याल पनि विदेशको कमाइले आर्जेको सम्पत्तिको सुख सयल छोडेर गाउँमा तरकारी फार्म चलाएर बस्नुभएको छ ।

बसाइँ सरेर जानेहरुले जग्गा नबेच्ने र बसाइँसराइको कागज नगर्ने भएकाले यहाँको वास्तविक तथ्याङ्क भने छैन् ।

तर गाउँमा सुविधा नभएको भनेर छोड्ने दिनानुदिन बढ्दै छन् ।

बसाइँ सर्ने रोगमा मलमपट्टी लगाउन गाउँ भित्रिएका ढालेन्द्र, ओमबहादुर र चुडामणिजस्ता युवा पनि छन् ।

विदेशबाट फर्केर गाउँमा उद्यम, व्यवसाय र खेतीपाती गर्नेलाई गाउँपालिकाले पनि प्रोत्साहनका कार्यक्रम ल्याएको छ ।

“गतवर्षमा ४० वटा भेडीगोठ सुधारका लागि अनुदान दिएका थियौं”, गाउँपालिका अध्यक्ष जोकलाल बुढाले भन्नुभयो, “ऋणमा सहुलियत, व्यवसायमा अनुदान र प्रविधि तथा तालिम निःशुल्क उपलव्ध गराउने कार्यक्रम हामीसँग छन् ।”

गाउँ फर्केका युवाले गाउँमै भविष्य खोज्ने उहाँले बताउनुभयो ।

तीनै तहका सरकारले साथ सहयोग गरे गाउँमा पनि नमूना काम गर्न सकिने उदाहरण उनीहरुले दिएको स्थानीयवासी बताउँछन् ।

प्रकाशित मिति:February 22, 2022