राष्ट्रिय सभाका २० सदस्य आज पदमुक्त हुदै

  Sampatti News

March 4, 2022

काठमाडौँ-राष्ट्रिय सभाका २० सदस्य आज पदमुक्त हुने भएका छन् ।

४ बर्ष अगाडी गोला प्रथाका आधारमा चार वर्षे कार्यकाल पूरा गरेका २० सदस्यहरूको पदावधि आज देखि समाप्त भएको हो ।

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आज सिंहदरबार नजिकको होटेलबाट ती सांसदहरूलाई बिदाइ गर्ने कार्यक्रम तय भएको छ ।

नेकपा माओवादी केन्द्रका चार, एकीकृत समाजवादीका चार, नेकपा एमालेका आठ, नेपाली काँग्रेसका तीन र मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनीत एक जना गरी २० सदस्यहरूको पदावधि आज सकिएको हो ।

माओवादी केन्द्रका दीनारनाथ शर्मा, शशीकला दाहाल, खिमकुमार विक र जीवन बुढा तथा एकीकृत समाजवादीका उदया शर्मा पौडेल, ठगेन्द्र प्रकाश पुरी, शान्ति कुमारी अधिकारी जिसी र शेरबहादुर कुँवरको कार्यकाल सकिएको छ ।

एमालेका परशुराम मेघ गुरुङ, अगम प्रसाद बान्तवा राई, कविता बोगटी, कोमल वली, चक्रप्रसाद स्नेही, नैनकला ओझा, राम लखन चमार र सुमनराज प्याकुरेलको पदावधि समाप्त भएको हो ।

यस्तै नेपाली काँग्रेसका राधेश्याम अधिकारी, दृग नारायण पाण्डे र तारादेवी भट्टको कार्यकाल सकिएको छ ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनीत रामनारायण बिडारीको कार्यकाल पनि आजैबाट समाप्त भएको छ ।

२० सदस्यको पद रिक्त हुनुभन्दा एक महिना अगाडि नै राष्ट्रिय सभा सदस्य निर्वाचन गरिएको थियो ।

नवनिर्वाचित सदस्यहरूको शपथ ग्रहण शनिवार ११ बजे सङ्घीय संसद् सचिवालयमा आयोजना गरिएको छ ।

गत माघ १२ मा १९ सिटका लागि भएको राष्ट्रिय सभा निर्वाचनमा नेपाली काङ्ग्रेसबाट गोपाल कुमार बस्नेत, कृष्णप्रसाद पौडेल, कमला पन्त, युवराज शर्मा, दुर्गा गुरुङ र नारायणदत्त मिश्र निर्वाचित भएका छन् ।

माओवादी केन्द्रबाट उर्मिला अर्याल, भुवनबहादुर सुनार, सुरेश आले मगर, नरबहादुर विष्ट र जगबहादुर पार्की राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका छन् ।

एकीकृत समाजवादीबाट जयन्तीदेवी राई, गोमादेवी तिमिल्सिना, राजेन्द्रलक्ष्मी गैरे, उदयबहादुर बोहरा र मदन कुमारी शाह (गरिमा) निर्वाचित भएका छन् ।

नेकपा एमालेबाट सोनाम गेल्जेन शेर्पा, जनता समाजवादी पार्टीबाट मोहम्मद खालिद र राष्ट्रिय जनमोर्चाबाट तुलप्रसाद विश्वकर्मा पनि राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका छन् ।

अर्का एक जना भने मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुनेछन् ।

प्रकाशित मिति:March 4, 2022