श्रमिकको पक्षमा मन्त्री श्रेष्ठ र सचिव अर्याल: विमानस्थलमा रहेको विभेदकारी व्यवस्थाको अन्त

  Sampatti News

March 10, 2022

काठमाडौँ-श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्ण कुमार श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको प्रवेशमा रहेको विभेदकारी व्यवस्थाको अन्त गरिदिएका छन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ र सचिव एकनारायण अर्यालले बुधवार श्रम डेस्क नै हटाई एक नम्बरमा मात्र सीमित प्रवेशलाई सबै गेटबाट प्रवेश दिने घोषणा गरेका हुन् ।

यो सँगै वैदेशिक रोजगारीमा जाने श्रमिकहरूले छुट्टै लाइन बस्नु पर्ने व्यवस्था हटेको छ ।

कर्मचारी श्रम डेस्कमा जान न्वारनदेखिको बल लगाउने र सहीछाप लगाउने नाममा अनकन दुःख दिई श्रमिकहरूबाट पैशा असुल्ने गुनासो मन्त्रालयमा पुगेसँगै मन्त्री र सचिवले सयुक्त रुपमा उक्त प्रावधान उन्मुलन गरेका छन् ।

अब डेस्क नै हटाएपछि श्रमिकहरूले जुनसुकै गेटबाट बैदेशिक रोजगारीका लागी प्रस्थान गर्न सक्नेछन् ।

अहिले श्रम स्वीकृति पूर्णरुपमा अनलाइनमा प्रणालीमा गए सकेको र वैदेशिक रोजगार विभागको अनलाइन सूचना प्रणाली(फेमिस)अध्यागमन विभागको सफ्टवेयरसँग जोडिएकोले श्रमिकको राहदानी स्क्यान गर्ने बित्तिकै श्रम स्वीकृतिको सबै विवरण अध्यागमन अधिकृतले नै हेर्न सक्ने भएकोले थप डेस्कको आवश्यकता नरहेको महानिर्देशक पौडेलले बताएका छन् ।

यसअघि श्रम स्वीकृति कागजमा जारी हुने हुँदा नक्कली श्रम स्वीकृति बनाउने सम्भावना रहने भएकोले तत्कालीन अवस्थामा डेस्क राख्नुपरेको थियो ।

श्रमिकको पक्षमा मन्त्रालयले चालेको यस कदमको सर्वत्र प्रशंसा भैरहेको छ । डक्टर, पाइलट, इन्जिनियरलगायत जतिसुकै हाइस्किल्ड जनशक्तिले पनि वैदेशिक रोजगारीमा जाँदा त्यही लाइन लाग्दै आएका थिए ।

श्रम मन्त्रालयमा सचिव एक नारायण अर्यालको आगमनभएसँग बैदेशिक वैदेशिक रोजगारमा रहेका अनावश्यक प्रक्रियाहरूलाई हटाउँने तथा सहजबनाउने कार्य तिब्र गतिमा अगाडी बढेको छ ।

ठुलो सङ्ख्यामा रहेका श्रमिक वर्गलाई आवतजावतमा सहज र सम्मानयुक्त बनाउन यो कदम चालिएको सचिव अर्यालले बताएका छन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सचिव अर्यालको आगमनसँगै वैदेशिक रोजगारलाई फेस लेस, क्यास लेस र लेसपेपर बनाउने २५ बुँदे निर्देशन जारी गरेका थिए ।

उक्त निर्देशन अनुरुप तिब्र रुपमा काममा होमिएको श्रम मन्त्रालयले पहिलो चरणमै काठमाडौँ कार्यालयबाट अनलाइन सेवा सुरु गरेसँगै श्रमको क्षेत्रमा युगान्तकारी परिर्वतनको महसुस गरिएको छ ।

प्रकाशित मिति:March 10, 2022