चुनावी कार्ययोजना पारित गर्दै नेकपा एकीकृत समाजवादी

  Sampatti News

March 10, 2022

काठमाडौँ-नेकपा एकीकृत समाजवादीले केन्द्रीय समिति बैठकमा चुनावी कार्ययोजना पारित गर्ने भएको छ ।

काठमाडौँमा जारी नेकपा एकिकृत समाजवादीको केन्द्रीय समिति बैठकमा एमसीसी अनुमोदन गर्नुपर्ने वाध्यताबारे प्रस्ट्याईएको थियो ।

बुधबार सुरु भएको पार्टीको बैठकमा अध्यक्ष नेपालले १० पेज लामो राजनीतिक प्रतिवेदन पेश गरेका थिए ।

अध्यक्ष माधवकुमार नेपालले पेश गरेको राजनीतिक प्रतिवेदनमाथिको समूहगत छलफलको निष्कर्ष सुनाउँदै बैठक बिहीबारै सकिने भएको हो ।

प्रतिवेदनमाथि बुधबारबाटै सात प्रदेशसहित नौ वटा समूहमा छलफल भएको थियो ।

अध्यक्ष नेपालको प्रतिवेदनमा खासगरी एमसीसी अनुमोदन गर्नुपर्ने बाध्यता, वर्तमान राजनीतिको विश्लेषण तथा आगामी चुनावबारे चर्चा गरेका छन् ।

आगामी बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि सम्पूर्ण पार्टी पंक्ति केन्द्रीत हुनेगरी समाजवादीले कार्ययोजना बनाउने तय गरेको छ ।

समाजवादीले आवश्यकताअनुसार माओवादी केन्द्र, काँग्रेस, जसपा र जनमोर्चासँग स्थानीय निर्वाचनमा ठाउँ हेरेर स्थानीय तहमै गठबन्धन गर्नेगरी सहकार्यको नीति बनाउने तयारी गरेको छ ।

प्रकाशित मिति:March 10, 2022