नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले युक्रेनबाट पाठ सिकेर सबै छिमेकीसँग नेपालले समदूरीमा रहेर परराष्ट्र नीति अँगाल्नुपर्ने बताउनुभएको छ ।
नेकपा (एकीकृत समाजवादी) भक्तपुर नगर समितिले आज आयोजना गरेको भेलामा उहाँले विश्वमा समाजवादी शक्ति पहिलेभन्दा अघि बढ्न सक्ने परिस्थिति बन्दै गएको बताउनुभयो ।
नयाँ संविधानअनुसार सम्पन्न निर्वाचनमा दुईवटा कम्युनिष्ट पार्टीहरू एकताबद्ध भएर अगाडि बढ्ने अवसर जुट्यो र त्यो अवसरका आधारमा झण्डै दुईतिहाइ बहुमत प्राप्त गरी सरकार निर्माण गर्दा जनताको आकाङ्क्षा सगरमाथाजस्तै चुलिएको चर्चा गर्दै नेता खनालले केपी शर्मा ओलीले प्रधानमन्त्रीको शपथ खाएको दिनदेखि पार्टीलाई बेवास्ता गर्ने, पार्टीको निर्देशन नमान्ने प्रवृत्ति देखिएको, देश र जनतालाई धोखा दिएको आरोप लगाउनुभयो ।
उहाँले भन्नुभयो, “कम्युनिष्ट आन्दोलनप्रति, पार्टीप्रति एकपछि अर्को प्रहार गर्न थालेपछि नेपालको कम्युनिष्ट आन्दोलनमा बडो दुभाग्यपूर्ण स्थिति सिर्जना भयो, शक्तिशाली संसद् दुई–दुईपटक विघटन भयो र कम्युनिष्ट आन्दोलनलाई धोखा दिन थालेको सिलसिलामा नयाँ कम्युनिष्ट पार्टी नेकपा (एकीकृत समाजवादी)को जन्म भएको हो ।”
उहाँले राष्ट्रिय परिस्थितिमा रहेको प्रतिकूलतालाई बदलेर जानुपर्ने र त्यसका लागि शक्तिशाली कम्युनिष्ट पार्टी निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी ६१ युवा नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका थिए । नवप्रवेशीलाई नेता खनालले टीका र खाँदा लगाई पार्टीमा स्वागत गर्नुभएको थियो ।