दुई सचिवको सरुवा: सिंह फेरी शहरीमा

  Sampatti News

March 19, 2022

काठमाडौँ-बिभिन्न दाउपेच गरेर सचिव रमेश कुमार सिंह पुन: शहरी विकास मन्त्रालयमा सरुवा भएका छन् ।

मङ्गलवार बसेको मन्त्रिपरिषद्को बैठकले सचिव रमेश कुमार सिंहलाई शहरी विकास मन्त्रालयमा पठाउने गरी शहरी विकासका सचिव मणि राम गेलाललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तानेको छ ।

मणि राम गेलाललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तान्दै मन्त्रिपरिषद्को कार्यालयमा रहेका सचिव रमेश कुमार सिंहलाई शहरी विकास मन्त्रालयमा पठाउने निर्णय भएको हो ।

मनपरी योजना हालेकोदेखि विभागीय मन्त्रीलाई समेत नसोधी एकलौटी निर्णय गरेपछि मन्त्री रामकुमारी झाँक्रीले उनको सरुवा गरेकी थिइन् ।

त्यसयता भौतिक भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय जान चलखेल गर्दै मन्त्री तथा नेताको घरदैलोमा लगेका सिंह अन्तिममा शहरी विकासमा फर्कन सफल भएका छन् ।

सिंह तेस्रो पटक शहरी सचिवमा फर्किएका हुन् । कर्मचारीदेखि कन्सल्टेन्सीसम्मै ‘सेटिङ’मा काम गर्ने सचिव सिंह विभागमा कार्यरत रहदा देखि नै आफ्नो स्वार्थ अनुकुल अख्तियारको प्रयोग गर्ने बदनाम प्राप्त सचिव हुन् ।

आफ्नै लगानीमा यिनले दर्जनौ कन्सल्टेन्सी सञ्चालन गर्दै आएका छन् । करारमा कर्मचारी भर्ना होस् कि उपत्यका विकास प्राधिकरणमा गरिएका नियुक्ति नै किन नहोस्, उनका कैयन् कैफियतबारे सम्बन्धित निकायको मौनतालाई पनि अर्थपूर्ण रूपमा हेरिएको मन्त्रालय स्रोत बताउँछ ।

अघिल्लो सरकारमा प्रधानमन्त्री ओलीलाई रिझाउन उद्घाटनकै लागि अनेक योजना थपेका सचिव सिंहले गोदावरी अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा ठुलो आर्थिक चलखेल गरेको पाईएको छ । ठुलो आर्थिक चलखेल गरिएको गोदावरी अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माण सम्पन्न नहुँदै उद्घाटन गराउँदा केही दिनमै पानी चुहिएको थियो ।

प्रधानमन्त्री कार्यालयमा रहेको बेला फुर्सदको समयलाई चाकडीमा उपयोग गरेका सचिव सिंह शहरीमा फर्किएका छन् ।

प्रकाशित मिति:March 19, 2022