कैलालीमा बढ्यो चुनावी सरगर्मी

  Sampatti News

March 21, 2022

सुदूरपश्चिम-आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि कैलाली जिल्लामा चुनावी सरगर्मी बढ्न थालेको छ ।

चुनावको तयारीस्वरुप राजनीतिक दल बैठक, भेला, प्रशिक्षण, छलफल, अन्तक्र्रियामा केन्द्रित भइरहेका छन् ।

बैठक, भेला, प्रशिक्षणमा स्थानीय तहको चुनावमा पार्टीका तर्फबाट उठ्ने उम्मेदवारलाई कसरी विजयी बनाउन सकिन्छ भन्ने विषयमा छलफल हुने गरेको राजनीतिक दलका नेता कार्यकर्ताले बताएका छन् ।

पालिका तहमा विभिन्न दलबाट प्रतिस्पर्धा गर्ने उम्मेदवारको नामको टुङ्गो लागाउन बाँकी रहँदा भइरहेका राजनीतिक दलका भेला, प्रशिक्षण, बैठक कुन तहमा कस्तो व्यक्तिलाई टिकट दिँदा चुनाव जित्न सकिन्छ भन्नेमा केन्द्रित देखिन्छन् ।

चुनावी सरगर्मी बढ्दा नेपाली कांग्रेसले ‘घर घर जाउँ, कांग्रेस जिताऔँ’ भन्ने नारासहित प्रशिक्षण, भेला र बैठक गरिरहेको सो पार्टीका जिल्ला सचिव नृप सुनार बताउनुहुन्छ ।

“वैशाख पहिलो हप्ताभित्र स्थानीय तहमा उठ्ने पार्टीका उम्मेदवारको टुङ्गो लागिसक्छ’’, सुनारले भन्नुभयो,‘‘विधान बमोजिम पार्टीका विभिन्न तहमा रहेका संसदीय बोर्डले उम्मेदवारको टुङ्गो लगाउँछ ।’’

नेकपा एमालेले पनि चुनाव लक्षित बैठक, छलफललाई तीव्र बनाएको छ ।

एमालेका जिल्ला नेता रणबहादुर चन्दले भन्नुभयो, ‘‘आफूहरु आगामी चुनावी रणनीतिमा केन्द्रित रहेर काम गरिरहेका छौं ।

’’(नेकपा माओवादी) केन्द्र र (नेकपा एकीकृत समाजवादी) पनि पार्टी सङ्गठन सुदृढीकरणका लागि आक्रामक रुपमा लागेका छन् ।

एकीकृत समाजवादी पार्टीका जिल्ला सचिव खडक रावतले आगामी चुनावमा पार्टीका उम्मेदवारलाई विजयी बनाउन गर्नुपर्ने सबै तयारीमा पार्टी लागेको जानकारी दिनुभयो ।

रावतले भन्नुभयो,‘‘चुनावमा सकभर सत्तापक्षीय दलको गठबन्धन बनाएर जाने र गठबन्धनमा कांग्रेस सहमत नभए कम्तीमा पनि एमाले बाहेकको बामपन्थी दलको गठबन्धन बनाएर चुनावमा होमिने तयारी भइरहेको छ ।’’

पाँच वर्षअघि भएको स्थानीय तहको निर्वाचनमा कैलाली जिल्लाका कूल १३ स्थानीय तहका प्रमुखमध्ये सात तहमा एमाले, धनगढी उपमहानगरपालिकासहित तीन तहमा कांग्रेस, दुई तहमा नेकपा माओवादी केन्द्र र एक तहमा तत्कालीन लोकतान्त्रिक फोरमका उम्मेदवार प्रमुख पदमा विजयी भएका थिए ।

लोकतान्त्रिक फोरम कांग्रेसमा समाहित भएको छ भने एमाले विभाजनको अवस्थामा छ ।

आउने निर्वाचनमा कांग्रेस, एमाले, नेकपा माओवादी केन्द्रबीच नै मुख्य प्रतिस्पर्धा हुने विश्लेषण गरिएको छ ।

यद्यपि पाँच वर्षको अवधिमा विभिन्न पार्टीमा भएको विभाजन,आन्तरिक गुटगत राजनीति लगायतका कारण पालिका तहको निर्वाचनको परिणाम पहिलेको भन्दा फरक आउन सक्ने कतिपयको विश्लेषण पनि छ ।

चुनावी गतिविधि बढ्दै गएपनि निर्वाचनमा सत्ताधारी दलबीच चुनावी गठबन्धन हुने नहुनेमा निश्चित् भइसकेको छैन ।

कैलालीको क्षेत्र १ मा टीकापुर घटनामा दोषी ठहर गरिएका रेशमलाल चौधरीको नयाँ दलको गतिविधि बढ्न थालेको छ ।

अन्य दलको तुलनामा कैलालीमा जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका चुनाव केन्द्रित गतिविधि कम देखिएका छन् ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचना सङ्घ, प्रदेश र स्थानीय तह गरी तीन तहको हुने व्यवस्था संविधानले गरेको छ ।

नेपालको राज्य शक्तिको प्रयोग पनि यिनै सङ्घ, प्रदेश र स्थानीय तहले गर्न पाउने संवैधानिक व्यवस्था छ ।

सुदूरपश्चिम प्रदेशको राजधानी सहर र प्रमुख व्यापारिक केन्द्र धनगढी उपमहानगरपालिकाको चुनावलाई बढी चासो र उत्सुकतापूर्वक हेरिन थालिएको छ ।

प्रकाशित मिति:March 21, 2022