३२ वर्षमै सहसचिव बनेका प्रशासन क्षेत्रकै कान्छा सहसचिव परियार

  Sampatti News

March 24, 2022

काठमाडौँ-प्रदीप परियार नेपाल निजामती प्रशासनमा ३२ बर्षकै उमेरमा सहसचिव बन्न सफल भएका छन् ।

लोक सेवा आयोगले प्रकासन गरेको खुल्ला तर्फको सिफारिस नतिजामा दोस्रो नम्बरमा परियार सिफारिस हुन सफल भएका हुन् ।

उनको यस सिफारिससँगै सम्भवत् उनी नेपाल निजामती प्रशासनमा सबैभन्दा कम उमेरमा सहसचिव बनेका छन्।

एक दलित समुदायको व्यक्ति परियार आरक्षणबाट नभएर खुलाबाट नै उच्च पदमा पुगेर ईतिहास बनाएका छन् ।

खुलातर्फ लिखित परीक्षाबाट अन्तरवार्तासम्म चारजना सिफारिस भएका थिए । जसमध्ये दुई जनालाई पछि पार्दै परियार सहसचिवमा सिफारिस भएका हुन् ।

२०४६ साल वैशाखमा पर्वतको फलेवास जन्मिएका परियार नायव सुब्बाबाट निजामति सेवामा प्रवेश गरेका थिए ।

नायव सुब्बाको पदमा एक वर्ष मात्रै काम गरेका उनी खुला प्रतिस्पर्धाबाट राजपत्रांकित तृतिय श्रेणी अर्थात शाखा अधिकृतमा सिफारिस भएका थिए ।
नायव सुब्बा र शाखा अधिकृत गरेर उनले अहिलेसम्म निजामती सेवाम नौ वर्ष पुग्दै गर्दा सहसचिवमा खुला प्रतिस्पर्धाबाट सिफारिस भएका हुन् ।

शाखा अधिकृतका रूपमा रहेर विभिन्न क्षेत्रमा बसेर काम गरेको अनुभव उनीसँग छ ।

अब स्थानीय तहमा पदस्थापन भएमा महानगरपालिका वा उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत, प्रदेश सरकारमा पदस्थापन भएमा प्रदेश मन्त्रालयको सचिवको जिम्मेवारीमा र गृह मन्त्रालय अन्र्तगत सिफारिस भएमा सुगम जिल्लाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी उनले सम्हाल्नेछन् ।

यति मात्र नभएर संघीय सरकारका मन्त्रालयमा पदस्थापन भएमा कुनै एक महाशाखा प्रमुखको जिम्मेवारी तथा विभागमा पदस्थापन भएमा विभागीय प्रमुख अर्थात महानिर्देशक वा उपमहानिर्देशकको जिम्मेवारीसमेत सम्हाल्न सक्नेछन् ।

२०६९ सालमा नायव सुब्बामार्फत निजामती सेवामा प्रवेश गरेका परियार नायब सुब्बाको नतिजा आएकै वर्ष उनले शाखा अधिकृतमा पनि आवेदन दिएका थिए ।

निजामती प्रवेशको एक वर्ष परीक्षणकाल रहे पनि त्यो पूरा नहुँदै उनी शाखा अधिकृतमा सिफारिस भएका थिए ।

२०७० सालबाट परियारले शाखा अधिकृतको रूपमा काम गर्दै आएका छन् ।

एकै वर्षमा तीनपटक उपसचिवको लिखित परीक्षमा उत्तीर्ण भए पनि उनी अन्तरवार्तामा फालिएका थिए ।

यस वर्ष नै उनी तीनपटक राजत्रांकित द्धितीय श्रेणी अर्थात उपसचिवको लिखित परिक्षामा उत्तीर्ण भएका हुन् ।

उनले उपसचिवमा प्रशासनतर्फ आन्तरिक र खुलातर्फ गरेर दुवैबाट आवेदन दिएकोमा दुवैतर्फ लिखित परीक्षामा उत्तीर्ण भएका थिए ।

यति मात्र नभएर परराष्ट्रको उपसचिवमा पनि उनले आवेदन दिएकोमा तीन पटक लिखित परीक्षामा उत्तीर्ण भएका थिए ।

तर, अन्तरवार्तामा भने उनी सफल हुन सकेनन् ।

प्रदीपले माध्यमिक तहको शिक्षा फलेवासकै सरकारी विद्यालय भवानी विद्यापिठबाट उत्तीर्ण गरेका हुन् ।

कक्षा एकदेखि कक्षा १० सम्मको पढाइमा उनी कहिल्यै दोस्रो भएनन् ।

१० कक्षाभन्दा माथिको पढाइमा निरन्तर छात्रवृत्ति पाइरहे ।

उनले शान इन्टरनेसनल कलेजबाट प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गरे ।

पब्लिक युथ क्याम्पसबाट स्नातक उत्तीर्ण गरेका उनी अस्ट्रेलियाली सरकारको छात्रावृत्तिमा अस्ट्रेलियन नेसनल युनिभर्सिटीबाट स्नात्तकोत्तर तह उर्तिण गरे ।

परियार पर्वतको फलेवासमा एक सामान्य परिवामा जन्मिएका हुन् । उनका परिवारमा बुवा–आमा अहिले पनि गाउँमै खेतीपातीको काम गर्दै आएका छन् ।

प्रकाशित मिति:March 24, 2022