राजस्व सुधार कार्ययोजना बनाउँदै स्थानीय तह

  Sampatti News

March 25, 2022

काठमाडौँ-बाँकेका स्थानीय तहले आन्तरिक आम्दानी बढाउन राजस्व सुधार कार्ययोजना तयार गर्न थालेका छन् ।

कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकाले कार्ययोजना तयार गरिसकेका छन् भने खजुरा गाउँपालिका कार्ययोजना तयारी चरणमा जुटेको छ ।

कोहलपुर नगरपालिकाको आन्तरिक आम्दानी तथा राजस्वको दायरा बढाउन योजनाका साथ काम भएको नगरप्रमुख लुटबहादुर रावतले बताउनुभयो ।

उहाँका अनुसार विगत तीन आर्थिक वर्षको नगरपालिकाको आर्थिक प्रतिवेदनमाथि विश्लेषण र छलफलका आधारमा आगामी तीन वर्षको राजस्व प्रक्षेपणसहित राजस्व सुधार कार्ययोजना तयार भएको छ ।

कोहलपुरको आन्तरिक आम्दानी अहिले जम्मा बजेटको १० प्रतिशत मात्रै रहेकाले आगामी तीन वर्षमा यो दर बढेर १५ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ ।

यस्तै बैजनाथ गाउँपालिकाको आन्तरिक आम्दानी अहिले जम्मा बजेटको चार प्रतिशत रहेकामा आगामी तीन वर्षमा नौ प्रतिशत पुर्‍याउने प्रक्षेपणका साथ राजस्व सुधार कार्ययोजना तयार गरिएको छ ।

प्रदेश प्रशिक्षण प्रतिष्ठान नेपालगञ्जको सहयोग तथा सेन्टर फर गुड गभर्नेन्स एण्ड डेभलपमेन्ट मेनेजमेन्टको परामर्शमा कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकाले राजस्व सुधार कार्ययोजना तयार गरेका हुन् ।

विगत तीन आवको स्थानीय तहको आर्थिक प्रतिवेदनमाथि विश्लेषण र छलफलका आधारमा आगामी तीन वर्षको राजस्व प्रक्षेपणसहितको राजस्व सुधार कार्ययोजना तयार गरिएको सेन्टर फर गुड गभर्नेन्स एण्ड डेभलपमेन्ट मेनेजमेन्टका अध्यक्ष एवं सहजकर्ता टीकाराम पन्थीले जानकारी दिनुभयो ।

उहाँका अनुसार राजस्व सुधार कार्ययोजना तयारीका लागि फिल्ड सर्भे, वडा कार्यालय, नगरपालिकाका शाखा, उद्योग व्यापार सङ्घ र नगरपालिका आर्थिक विकास समितिबीच अन्तक्र्रियापश्चात प्रतिवेदन तयार गरिएको हो ।

विगतमा योजनाबिनै काम गर्नुपर्ने वाध्यता रहेकामा अब राजस्व सुधार कार्ययोजना बनेसँगै काम गर्न सहज हुने कोहलपुरका आर्थिक विकास समिति संयोजक डिलबहादुर परियारले बताउनुभयो ।

यस वर्ष बाँकेका तीन स्थानीय तहलेमात्रै राजस्व सुधार कार्ययोजना तयार गर्दैछन् ।

कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकाले तयार गरिसकेको तथा खजुरामा तयारी कार्य भइरहेको सेन्टर फर गुड गभर्नेन्स एण्ड डेभलपमेन्ट मेनेजमेन्टका सहजकर्ता हरगोविन्द पाण्डेले जानकारी दिनुभयो ।

उहाँका अनुसार लुम्बिनी प्रदेशका ३५ स्थानीय तहले यस आवमा राजस्व सुधार कार्ययोजना तयार गर्दैछन् ।

प्रकाशित मिति:March 25, 2022