पपुवा न्युगिनीद्वारा नेपालसामु २९३ रनको लक्ष्य

Nepal Cover
११ चैत्र २०७८, शुक्रबार
image

पपुवा न्युगिनीद्वारा नेपालसामु २९३ रनको लक्ष्य

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पपुवा न्युगिनीले नेपालसामु जितका लागि २९३ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको पपुवा न्युगिनीले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै २९२ रनको योगफल बनायो ।

पपुवा न्युगिनीका लागि चाल्र्स अमिनीले सर्वाधिक ७७ रनको योगदान दिए । उनले १०३ बलमा ६ चौका र एक छक्का प्रहार गरे ।

यस्तै कप्तान असाद भालाले ५५ बलमा ११ चौकासहित ६०, नोरमान भानुले २८ बलमा चार चौका र तीन छक्काको मद्दतमा ४७, टोनी उराले ३८, राइली हेकुरेले ३१ तथा जासन किलले १३ रन बनाए ।

बलिङतर्फ नेपालका कमलसिंह ऐरी, सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले दुई/दुई तथा कप्तान सन्दीप लामिछाने र आरिफ शेखले एक एक विकेट लिए ।

यसअघि पपुवा न्युगिनी सन् १९९८ मा एसिसी ट्रफी खेल्न नेपाल आएको थियो ।

त्यतिबेला नेपालसँग भने उसले खेलेन । त्रिवि क्रिकेट मैदानमा पपुवा न्युगिनी पहिलो पटक नेपालसँग खेल्न लागेको हो ।

नेपालले अहिले पपुवा न्युगिनीविरुद्ध जवाफी ब्याटिङ गरिरहेको छ ।