गठबन्धन गरी निर्वाचनमा जानुपर्छः नेत्री कोइराला

  Sampatti News

March 30, 2022

नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुजाता कोइरालाले सरकारमा सहभागी दलहरुबीच गठबन्धन गरी निर्वाचनमा जानुपर्ने बताउनुभएको छ ।

गिरिजाप्रसाद कोइराला फाउण्डेशन मोरङद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले लोकतन्त्रको संरक्षण र राजनीतिक स्थिरताका लागि सत्तामा सहभागी दलबीच गठबन्धन कायम गरी जानुपर्ने आवश्यक्ता रहेको बताउनुभएको हो ।

पूर्वउपप्रधानमन्त्रीसमेत रहनुभएकी नेत्री कोइरालाले गठबन्धनका कारण दुई पटक विघटन गरिएको संसद् पुनःस्थापना र नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन भएकाले हामीहरु स्वार्थी हुनुहुँदैन भन्दै पार्टीको केन्द्रीय कार्य समितिको निर्णय सबै नेता तथा कार्यकर्ताले अनुशरण गरी अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

नेत्री कोइरालाले पार्टीलाई पुनः सत्तामा जानका लागि गठबन्धन आवश्यक भएको चर्चा गर्दै गठबन्धन सरकारबाट नै लोकतन्त्रको संस्थागत विकास, रोजगारी अभिवृद्धि र सामाजिक रुपान्तरण हुने बताउनुभयो ।

एक प्रश्नको जवाफमा उहाँले पार्टीको १४ औं महाअधिवेशनमा डा शेखर कोइरालालाई सभापतिमा हराउन आफ्नो कुनै भूमिका नरहेको स्पष्ट पार्नुभयो ।

नेत्री कोइरालाले आगामी संसदीय निर्वाचनमा मोरङ क्षेत्र नं २ बाट प्रत्यक्षतर्फ आफू उम्मेदवार हुने घोषणा गर्नुभयो ।

प्रकाशित मिति:March 30, 2022