पूर्वप्रधानमन्त्री ओली र खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट

  Sampatti News

March 30, 2022

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का नवनिर्वाचित प्रतिनिधिमण्डलले आज पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनालसँग अलगअलग भेटघाट गरी हालै सम्पन्न दसौँ विश्व सम्मेलनमा उठेका विभिन्न सवालका बारेमा जानकारी गराएको छ ।

एनआरएनएका अध्यक्ष कुल आचार्यको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले सम्मेलनमा उठेका सवालको उहाँहरुसँग सहकार्य र समन्वय गरिदिन आग्रह गरेको छ ।

अध्यक्षद्वयलाई बुझाइएको पत्रमा संसद्मा विचाराधीन गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयक पारित गर्न आग्रह गर्नाका साथै १०० कोठाको अत्याधुनिक सुविधासम्पन्न वृद्धाश्रम निर्माणका लागि नेपाल सरकारसँग जग्गा उपलब्ध गराउन, गैरआवासीय नेपालीले नेपालमा गर्न लागेको रु १० अर्बकोे सामूहिक लगानी कोषको कानुनी बाधा–अड्चन फुकाउनका लागि सहजीकरण, वैदेशिक रोजगार सामाजिक सुरक्षा कार्यक्रम ल्याउन पहल गर्न र वैदेशिक रोजगारबाट प्राप्त विप्रेषण सटहीमा प्रतिअमेरिकन दुई डलर सङ्घको वैदेशिक रोजगार कल्याणकारी कोषमा जम्मा हुने गरी पहल गर्न सहजीकरणका लागि अनुरोध गरिएको छ ।

एमाले अध्यक्ष ओलीसँगको भेटपछि उहाँले गैरआवासीय नेपाली समुदायले पछिल्लो समय नेपालमा कोभिडका बेलामा गरेको सहयोगको प्रशंसा गर्नाका साथै एनआरएनएका सुझावको कार्यान्वयनमा आफूले सहयोग र समन्वय गर्ने बताउनुभयो ।

यस्तै एकीकृत समाजवादीका वरिष्ठ नेता खनालले पनि प्रतिनिधिमण्डलले अगाडि सारेका सवाल उपयुक्त रहेकाले तिनको कार्यान्वयन गर्न आफू सकारात्मक रहेको बताउनुभयो ।

यसैबीच एनआरएनएको प्रतिनिधिमण्डलले आजै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूसँग पनि भेट गरी संस्थाका मागका बारेमा अवगत गराएको थियो ।

अलग–अलग रुपमा भएका ती भेटमा ती पार्टीका शीर्ष नेताका साथै एनआरएनएको महाधिवेशनबाट निर्वाचित अध्यक्ष रबिना थापा र डा बद्री केसीलगायत अन्य पदाधिकारी पनि सहभागी हुनुहुन्थ्यो । भेटका क्रममा नवनिर्वाचित कार्यसमितिलाई सम्मान, बधाई तथा शुभकामना दिइएको थियो ।

प्रकाशित मिति:March 30, 2022