April 4, 2022
त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट श्रृङ्खलाको उपाधि नेपालले जितेको छ ।
दीपेन्द्रसिंह ऐरी र करन केसीले उत्कृष्ट खेल प्रदर्शन गरेपछि पपुवा न्युगिनीलाई ५० रनले पराजित गर्दै नेपालले उपाधि चुमेको हो ।
ऐरीले अविजित ५४ रन बनाउनुका साथै महत्वपूर्ण चार विकेटसमेत लिए ।
केसीले अविजित ३३ रनको योगदान दिनुका साथै पपुवा न्युगिनीका तीन खेलाडीलाई पवेलियन फर्काए ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा पपुवा न्युगिनीले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेपछि नेपाल ब्याटिङमा उत्रेको थियो ।
नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १६८ रन बनायो ।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले अद्र्धशतकीय पारी खेले ।
उनले ५४ रन बनाउने क्रममा ३८ बलको सामना गर्दै पाँच चौका प्रहार गरे ।
यस्तै करन केसीले १२ बलको सामना गर्दै एक छक्का र पाँच चौका प्रहार गरे ।
आशिफ शेखले २९, कुशल भुर्तेलले २५ र मोहमद आदिल आलमले १५ रन बनाए ।
बलिङतर्फ पपुवा न्युगिनीका सेमो कमेआले तीन तथा चाड सुपर, कबुवा मोरिआ र रिले हेकुरेले एक एक विकेट लिए ।
एक सय ६९ रनको लक्ष्य पछ्याउने क्रममा पपुवा न्युगिनीको पारी ११८ रनमा समेटियो ।
पपुवा न्युगिनीलाई जिताउन सेसे बाउ अन्तिम समयसम्म सङ्घर्षरत रहे ।
उनले ३८ बलको सामना गर्ने क्रममा ६ छक्का र एक चौका प्रहार गर्दै सर्वाधिक ५९ रन बनाए ।
चाल्र्स अमिनीले १५ रन बनाउनु बाहेक पपुवा न्युगिनीका अरु कुनै पनि खेलाडीले उल्लेख्य रन बनाउन सकेनन् ।
प्रारम्भिक खेलाडीद्वय लेगा सिका र असाद भालाले आठ/आठ रन मात्र बनाउन सके ।
बलिङतर्फ नेपालका ऐरी र केसीका साथै कप्तान सन्दिप लामिछानेले समेत दुई विकेट लिए । ऐरीले निकै नै किफायती बलिङ गरे ।
उनले चार ओभरमा १८ रन मात्र खर्चिए । यस्तै केसीले तीन ओभरमा २७ रन तथा लामिछानेले चार ओभर बलिङ गर्दै २५ रन दिए ।
नेपाल, पपुवा न्युगिनी र मलेसिया सहभागी त्रिकोणात्मक टी–ट्वान्टी श्रृङ्खलाको ‘प्लेयर अफ दी सिरिज’ नेपालका ऐरी घोषित भए ।
उनले प्रतियोगिता अवधिभर पाँच खेलमा २५५ रन बनाउनुका साथै सात विकेटसमेत लिए ।
ऐरी आजको फाइनल खेलको ‘प्लेयर अफ दी म्याच’ समेत भए ।
प्रकाशित मिति:April 4, 2022