असहाय-अशक्तलाई घरमै पुगेर नागरिकता प्रदान गर्दै भक्तपुरकी सिडिओ शर्मा

Nepal Cover
२४ चैत्र २०७८, बिहीबार
image

घरको भूइँतल्लाको कोठामा पलङमाथि बसिरहनुभएकी युवतीले कोठामा प्रवेश गर्नुभएकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मासहितको टोलीलाई नमस्कार गर्नुभयो ।

प्रजिअ शर्माले नमस्कार फर्काउनासाथ युवतीले तोतेबोली बोल्दै हातको ईशाराले बोल्ने कोसिस गर्नुभयो, तर उहाँको बोली र ईशारा प्रजिअ शर्माले बुझ्नुभएन ।

शर्माले के भन्नुभएको भनी प्रश्न गर्नुभयो, तर युवतीले कुनै प्रतिक्र्रिया दिनुभएन । किनकी उहाँ बोल्न सक्नुहुन्न ।

उहाँको श्रवणशक्ति शून्य छ । भक्तपुरको सूर्यविनायक नगरपालिका–१, सिरुटारकी १७ वर्षीया अनुमपा मिश्रमा जन्मजात अपाङ्गताको समस्या छ । उहाँ हिँडडुल गर्न समेत सक्नुहुन्न ।

पक्षघातले उहाँको कम्मरमुनिको भाग चल्दैन । शारीरिक अस्वस्थाका कारण अनुपमाले उमेर पुगे पनि नागरिकता पाउनुभएको थिएन ।

यस्तै सूर्यविनायक नगरपालिका–४ दधिकोट चर्खण्डीका ९१ वर्षीय वृद्ध सूर्यबहादुर खड्का ओछ्यान परेको पाँच वर्ष भयो ।

औषधिका कारण दुवै आँखाको दृष्टि गुमाएका खड्का हिँडडुल गर्न सक्नुहुन्न । निमोनियाबाट पीडित खड्कालाई ओछ्यानमा २४सै घण्टा अक्सिजन दिनुपर्दछ ।

उहाँले नागरिकता हराउनुभयो । खड्काले पनि शारीरिक अशक्तताकै कारण नागरिकताको प्रतिलिपि लिन सक्नुभएको थिएन ।

अशक्त र अपाङ्गता भएकै कारण उमेर पुगेपनि अनुपमाले नागरिकता लिन नसकेको र सूर्यबहादुरले नागरिकताको प्रतिलिपि लिन नसक्नुभएको जानकारी पाएपछि प्रजिअ शर्माले दुवै जनालाई घरमै पुगेर नागरिकता दिने निर्णय गर्नुभयो ।

सोही अनुसार बुधबार साँझ कार्यालय समयपछि प्रजिअ शर्मासहितको टोली उहाँहरुको घरमा पुग्नुभयो र दुवै जनालाई नागरिकता प्रदान गर्नुभयो ।

प्रजिअ शर्माले नागरिकता प्रदान गरेसँगै आफ्नै तस्बिर र नागरिकता देखेर अनुपमा दङ्ग पर्नुभयो ।

हातको इशाराले प्रजिअ शर्मालाई मेरो तस्बिर भन्दै देखाउनुभयो । अनुपमाले प्रजिअ शर्माको गलामा झुण्डिएको परिचयपत्र हेर्दै फेरि आफ्नो नागरिकता देखाउनुभयो ।

असहाय, अशक्तलाई घरदैलोमा पुगेर सेवा दिने सरकारी नीतिअन्तर्गत उहाँहरुको घरमै पुगेर नागरिकता प्रदान गरिएको प्रजिअ शर्माले बताउनुभयो ।

“आवश्यक परे सरकार घरदैलोमा पुगेर सेवा दिन्छ भन्ने सन्देश दिन घरमै पुगेका हौँ”, उहाँले भन्नुभयो ।

नागरिकता हराएकाले प्रतिलिपी माग गरेको सूर्यबहादुरका छोरा श्रीकृष्ण खड्काले बताउनुभयो ।

श्रीकृष्णले पिता सूर्यबहादुरको नागरिकताको प्रतिलिपि माग गरेपछि प्रशासनले आवश्यक छानबिन गरी, सत्यतथ्य पत्ता लगाएर घरमै पुगेर सेवा दिने निर्णय गरेको प्रजिअ शर्माले बताउनुभयो ।

त्यस्तै अनुपमाका पिता उद्धवप्रसाद मिश्रले छोरीको नागरिकता माग गरेपछि नागरिकता प्रदान गर्न प्रजिअ शर्माको टोली मिश्र निवास पुग्नुभएको हो ।

भक्तपुरमा अझै पनि समयमा घटना दर्ता नगर्ने, नागरिकता जस्ता जन्मसिद्ध अधिकार प्राप्ति नगर्ने प्रवृत्ति रहेको र यस्तो प्रवित्तिले महिला अधिकारबाट वञ्चित हुनुपर्ने, सम्पत्तिको हक हस्तान्तरणमा समस्या आउने गरेको प्रजिअ शर्माले बताउनुभयो ।

उहाँले नागरिकले समयमा घटना दर्ता गर्ने, नागरिकता, विवाह दर्ता लगायतका आवश्यक कागजपत्र समयमै लिन उहाँले आह्वान गर्नुभयो ।

खड्का र मिश्रलाई नागरिकता प्रदान गर्न प्रजिअ शर्मासहित सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्मा, भक्तपुर प्रहरी प्रमुख शिवकुमार श्रेष्ठ, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत, नागरिकता फाँटका कर्मचारीलगायत सहभागी थिए ।