भन्सार छलेर ल्याएको सामानसहित दुई पक्राउ

  Sampatti News

April 12, 2022

काठमाडौं- भन्सार छलेर ल्याएको सामानसहित दुई जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँ र महानगरीय प्रहरी वृत्त टेकु तथा जनसेवाबाट खटिएको टोलीले रु २३ लाख ५५ हजार ३०० मूल्य बराबरको कपडासहित काठमाडौँ महानगरपालिका–१४ बस्ने ३८ वर्षीय नीरज अग्रवाल र काठमाडौँ

महानगरपालिका–१८ बस्ने ३८ वर्षीय सन्दीप कुमारलाई पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले भन्सार छली गरेर ल्याएको लत्ताकपडासहित उनीहरुलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।

उक्त कपडा अग्रवालले काठमाडौँ महानगरपालिका–२४ असनस्थित सञ्चालन गरेको हनुमान ट्रेड कन्सर्न पसलको गोदाममा फेला परेको प्रवक्ता मैनालीले बताउनुभयो । पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:April 12, 2022