वैशाख ९ देखि एसईई परीक्षा: ५ लाख १४ हजार ७ सय ६० जना सहभागी हुदै

  Sampatti News

April 17, 2022

काठमाडौँ — विश्व्यापी महामारीको रुपमा रहेको (कोरोना भाइरस) को कारण दुई वर्षदेखि हुन नसकेको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी वैशाख ९ देखि सञ्चालन हुने भएको छ ।
शैक्षिक सत्र २०७६ र २०७७ मा कोरोना महामारीका कारण विद्यालयले गरेको आन्तरिक मूल्यांकनकै आधारमा राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक गरेको थियो । गत दुई वर्ष आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गर्दा ग्रेड वृद्धिको अवसर दिइएको थिएन ।

कोरोना महामारी कम भए सँगै यसपालि बोर्डले तयार पारेको प्रश्नपत्रको आधारमा देशभरका २ हजार ७ परीक्षा केन्द्रमा दुई वर्ष पहिलेको जस्तै एसईई सञ्चालन हुने बोर्डले जनाएको छ । परीक्षामा ५ लाख १४ हजार ७ सय ६० जना सहभागी हुनेछन् ।

प्रश्नपत्र, उत्तरपुस्तिकालगायत परीक्षा सामग्री ७७ वटै जिल्लामा पुगिसकेको एसईईका परीक्षा नियन्त्रक अर्जुन रायमाझीले जानकारी दिए ।

‘केन्द्राध्यक्ष नियुक्त गरेर प्रशिक्षणको काम भइरहेको छ,’ उनले भने । परीक्षामा देशभरका ११ हजार ६ सय १५ विद्यालयका विद्यार्थी सहभागी हुँदै छन् ।

प्रदेशस्थित सामाजिक विकास मन्त्रालय र जिल्ला परीक्षा समन्वय समितिको व्यवस्थापनमा एसईई सञ्चालन गर्न लागिएको बोर्डका अध्यक्ष महाश्रम शर्माले जनाए ।

प्रश्नपत्र केन्द्रले तयार पारेर जिल्लामा पठाएको छ, उनले भने, ‘प्रदेशले विद्यार्थीको प्राप्तांक पठाएपछि रुजु गरेर बोर्डले नतिजा प्रकाशन गर्छ ।’ साउन १ देखि कक्षा ११ को शैक्षिक सत्र सुरु हुनुअघि नै एसईईको नतिजा सार्वजनिक गरिसक्ने लक्ष्य लिएको उनले बताए 

प्रकाशित मिति:April 17, 2022