वर्षाले राहत

  Sampatti News

April 20, 2022

वैशाख पहिलो साताभित्रै भएको वर्षाले अचाक्ली बढेको गर्मीबाट राहत मिलेको छ ।

मङ्गलबार राति मेघगर्जनसहित केही बेर परेको पानीले महोत्तरीमा गर्मीबाट राहत मिलेको हो ।

गए रातिको वर्षाले बाँझो जग्गा खनजोत गर्न सहज भएको किसानले बताएका छन् ।

चैतेबाली थन्क्याएपछि रुखिएको जग्गा खनजोत हुन सकेको थिएन ।

वर्षा भएपछि अब बर्खे मकै, कोदो लगाउन र बर्खे धानको धुले ब्याड राख्न मिल्ने बर्दिबास–७ मनहरिपुरका विन्देश्वर यादवले बताउनुभयो ।

“राम्ररी चिस्यान हुने गरी पानी परेको छ”, उहाँले भन्नुभयो, “यसपालि बर्खेबाली समयमै लगाउन पाइने आश जाग्यो ।”

पछिल्लो वर्षाले तरकारी खेती गर्न सहज भएको किसानको भनाइ छ । वर्षाअघि केहीबेर चलेको हावाहुरीले कलिला बोट र तरकारीका बेला (लहरा) लतारेर केही नोक्सान गरेको किसानले बताएका छन् ।

हावाहुरीले आँप, लिचीसहितका फलका चिचिला सोतर पारेर झारेको भङ्गाहा–४ पलारका चौठी सर्दार बाँतर भन्नुहुन्छ ।

अन्य बालीनालीमा परेको अनुकूलतालाई उपयोग गर्दै चित्त बुझाउनुपर्ने बाँतर बताउनुहुन्छ । वर्षापछि किसानलाई राहत मिलेको छ ।

प्रकाशित मिति:April 20, 2022