आदेश आफ्नो नभई सिस्टमको पक्षमा: गभर्नर अधिकारी

Nepal Cover
७ बैशाख २०७९, बुधबार
image

काठमाडौँ-नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले आदेश आफ्नो नभई सिस्टमको पक्षमा भएको उल्लेख गरेका छन् ।

सर्वोच्च अदालतले हिजो (मंगलबार) गभर्नरलाई निलम्बन गर्ने निर्णयलाई तत्काल कार्यान्वयन नगर्न नगराउन भन्दै अन्तरिम आदेश दिएको थियो ।

उक्त आदेशपछी गर्भनर अधिकारी काममा फर्किएका हुन् । आदेशपछि बुधबार काममा फर्किएका उनले आदेश आफ्नो नभई सिस्टमको पक्षमा आएको बताएका हुन् ।

‘म एउटा माध्यम मात्रै हुँ । यो सिस्टमको लागि आएको आदेश हो,’ उनले भने, ‘यहाँहरूले मेरो लागि भन्दा पनि सिस्टमकै लागि बोलिदिनुभएको छ। त्यसको लागि कृतज्ञ छु। अब आफ्नो जिम्मेवारीमा फर्किएको छु ।’

चैत २४ गते मन्त्रिपरिषद् बैठकले गभर्नर अधिकारीलाई निलम्बन गरेको थियो ।

उनले वैशाख ४ गते आइतबार सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए। त्यसको भोलिपल्ट मात्रै अदालतमा रिट दर्ता भएको थियो ।

बुधबार राष्ट्र बैङ्कको केन्द्रीय कार्यालय बालुवाटारमा कर्मचारीहरूले स्वागत गरेका थिए ।

अधिकारीको निलम्बनका विषयमा छलफल गर्न सर्वोच्चले वैशाख १३ गते दुवै पक्षलाई बोलाएको छ ।