बकपत्रमा बयान फेरिएसँगै पल शाह कारागार मुक्त हुने संभावना उच्च

  Sampatti News

April 20, 2022

काठमाडौँ-करणीको अभियोगमा कारागार चलान भएका अभिनेता पुर्ण बिक्रम शाह पल शाह छुट्ने सम्भावना उच्च भएको छ ।

उनी माथि लागेको करणीको अभियोगमा जाहेरीकर्ता पिडितले बयान फेरेसँगै उनी छुट्ने सम्भावना बढेको हो ।

जिल्ला अदालत तनहुँमा पीडित नाबालिग र जाहेरवाला उनका बुवाले शाहले उन्मुक्ती पाउने गरी बकपत्र दिएसँगै मुद्दा कमजोर हुने संकेत देखिएको हो।

कलाकार पल शाहले आफूमाथि पटक पटक करणी गरेको आरोप लगाएकी नाबालिगले अदालतमा बयान फेरेकी छन्।

अदालतले बयान लिने क्रममा पीडित भनिएकी नाबालिग गायिकाले बयान फेरेकी हुन् ।

आइतबार जिल्ला अदालत तनहुँमा पीडितले बयान दिएकी थिइन् ।

आफूले दबाबमा जाहेरी दिएको र प्रहरीले आफैँले बयान लेखेकोसमेत उनको दाबी रहेको अदालत स्रोतले जानकारी दिएको छ।

पलले आफूमाथि करणी नगरेको, उक्साहटमा जाहेरी दिएको र प्रहरीले आफैँ बयान लेखेको तर आफ्नो बयान भनेर अदालतमा बुझाएको पीडितको दाबी छ।

पीडितका बुबाले तनहुँ र नवलपुर प्रहरीमा पलविरुद्ध जाहेरी दिएका थिए।

दुवै जिल्लाका जिल्ला अदालतले उक्त मुद्दामा प्रारम्भिक सनुवाई गरेका छन् ।

तनहुँ अदालतले शाहलाई पुर्पक्षका लागि थुनामा पठाएको छ।

जिल्ला अदालतको आदेशविरुद्ध पल उच्च अदालतमा पुनरावेदनमा गएका छन्।

अदालतमा बयान फेरिपछि नाबालिग ‘होस्टाइल’ भएको हुन सक्ने आशंका गरिएको छ।

पीडित र जाहेरवालाले बकपत्रमार्फत बयान फेरेसँगै पल शाहले सफाइ पाउने सम्भावना बढेको छ।

कतिपय मुद्दामा बकपत्र फेरिएसँगै पीडकले सफाइ पाउने गरेको नजिर रहेको छ ।

पुर्व सभामुख कृष्ण बहादुर महराको मुद्धामा समेत बयान फेरिएसँगै उनले उन्मुक्ती पाएका थिए ।

जिल्ला प्रहरी कार्यालय तनहुँमा १७ वर्षीया किशोरीका बुबाले म्युजिक भिडियो छायांकनका क्रममा शाहले बारम्बार जबर्जस्ती करणी र यौन दुर्व्यवहार गरेको आरोप लगाउँदै गत फागुन ११ गते जाहेरी दर्ता गराएका थिए ।

जाहेरीमा म्युजिक भिडियो सुटिङका क्रममा पटकपटक करणी प्रयास गरेको र विवाहको प्रलोभन देखाई तनहुँमा करणी गरेको उल्लेख गरिएको थियो ।

तनहुँमा करणी हुँदा उनी १६ वर्ष मुनि रहेको जाहेरीमा उल्लेख थियो ।

जाहेरी दर्ता भएपछि फागुन १५ मा शाह प्रहरीको सम्पर्कमा आएका थिए । किशोरीले फागुन १६ मा पूर्वी नवलपरासी प्रहरीमा पनि उस्तै प्रकृतिको जाहेरी दिइन् ।

प्रहरीले अदालतबाट गत फागुन १५ गते सात दिन, २२ गते १२ दिन र चैत ४ गते ५ दिनको म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान गरेको थियो ।

शाहलाई फागुन २४ मा पूर्वी नवलपरासी लगेर बयान लिइएको थियो । उनीविरुद्ध त्यहाँ पनि जबर्जस्ती करणीको मुद्दा दर्ता भइसकेको छ ।

शाहविरुद्ध चैत ८ मा सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा अभियोगपत्र दर्ता गरेको थियो ।

तनहुँका जिल्ला न्यायाधीश हरिश्चन्द्र ढुंगानाको इजलासले चैत १० मा पूर्पक्षका लागि थुनामा पठाउने आदेश दिएसँगै उनी जिल्ला कारागार चलान भएका थिए ।

जबर्जस्ती करणी मुद्दामा मतियार बनेको भन्दै अभियोग दर्ता गरिएका शाहका म्यानेजर कृष्ण जोशी भने १ लाख रुपैयाँ धरौटीमा तारिखमा छुटिसकेका छन् ।

पूर्पक्षको लागि कारागार चलान गर्ने तनहुँ अदालतको आदेशविरुद्ध पल शाह पक्षका कानुन व्यवसायीले उच्च अदालत पोखरामा निवेदन दिएका थिए ।

पललाई धरौटी वा तारेखमा छाडेर मुद्दा लड्न दिन निवेदनमा माग गरिएको थियो । उच्च अदालतले पेशी तोकिसकेको छैन ।

बयान फेर्न आर्थिक चलखेल र प्रभाव

पल शाहमाथी करणीको आरोप लागाएकी गायिका तथा उनको वुवामाथी बयान फेर्न दवाब र आर्थिक प्रलोभन देखाईएको समाचार स्रोतले बताएको छ ।

‘केही दिन पहिले पल शाहकी बहिनीले गायिका र उनको परिवारलाई भेटिछन् ।

धरधरी रोएर ‘मेरो दाइलाई छुटाइदिनुस्, दुईजनाको बिहे गरिदिने जिम्मा मेरो भयो’ भनिछन्,’ ती कानुन व्यवसायीले भने, ‘परिवारको र नाबालिकाको पनि मन पग्लिएछ क्यारे । बिहान अदालत जाने बेला बयान फेर्दैनौं भनेरै गएका हुन् ।’

जबर्जस्ती करणीको मुद्दामा जाहेरीकर्ता बयान फेर्दा हुने कानुनी कारबाहीको बारेमा नाबालिका र उनको परिवारलाई पटकपटक सम्झाइबुझाई गरे पनि अहिले बयान फेर्नुले आफूलाई समेत अचम्मित तुल्याएको ती कानुन व्यवसायीले बताए ।

अदालतमा बकपत्र गर्दाको अवस्थालाई नजिकबाट नियालेका कानुन व्यवासायीका अनुसार दबाब र प्रलोभनमा परेर बालिकाले बयान फेरेको हुनसक्ने जस्तो देखिएको छ ।

बालिकाला बुवा आमा लगायतको बकपत्र भने बाँकी छ ।बुवा, आमा लगायतले गरेको बकपत्र कस्तो हुन्छ त्यसको आधारमा मुद्दा थप कसरी अघि बढ्ने भन्ने निश्चित हुनेछ ।

पीडितहरुले दबाबमा परेर बिगतमा पनि अदालतमा बयान फेरेका घटना छन् ।

अदालतले प्रहरी ल्याएको भन्दा आफूसँग गरेको बयानलाई मुद्दा छिनोफानोमा मूल प्रमाण मान्ने गरेको छ ।

यसरी आर्थिक प्रलोभना तथा दबावमा करणी जस्तो मुद्धामा बयान फेरिदै अभियुक्त छुट्दा यस्ले कानुनमा नकारात्मक प्रभाव पार्ने जनकारहरुले बताएका छन् ।

देशमा बलात्कार तथा करणीका घटना दिन प्रतिदिन बढदै जादा यसरी मुद्धा प्रभावित हुदै अभियुक्त छुट्ने परिपाटीले देशमा बलात्कारका घटना बढने देखिन्छ ।

बयानकै आधारमा अभियुक्तलाई उन्मुक्ती दिनु भन्दा पनि तथ्य तथा छानविनका आधारमा निर्णय गर्नुपर्ने देखिन्छ ।

प्रकाशित मिति:April 20, 2022