जिल्ला तहको रिपोर्ट सुन्दा उत्साहित र आशावादी हुने अवस्था छैन: अध्यक्ष नेपाल

  Sampatti News

April 23, 2022

काठमाडौं-पाँच दलीय गठबन्धनबारे जिल्ला तहको रिपोर्ट सुन्दा आफ्नो पार्टीले उत्साहित र आशावादी हुने अवस्था नरहेको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बताएका छन्।

७३ औँ कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा बोल्दै उनले भने, ‘पाँच दलीय गठबन्धनमा छलफल भइरहेको छ।

तर, तल्लो तहको रिपोर्ट सुन्दा उत्साहजनक छैन । पहिलो चरणको सहमति उत्सावर्द्धक नै थियो । महानगर र उपमहानगरको सहमति गरेको छौँ । महानगरको भागबण्डाले राम्रो सन्देश गरेको छ।’

उनले आफ्नो पार्टीको संगठन देशव्यापी भए पनि गठबन्धनमा रहेका दलहरूको तीव्र आकांक्षाले समस्या भएको बताए।

अध्यक्ष नेपालले भने, ‘देशैभर हाम्रो पार्टीको संजाल छ। हामीले हाम्रो हैसियत अनुसारको न्युनतम सबै जिल्लामा पाउनुपर्छ भनेका छौँ । कांग्रेस, माओवादी र जसपाले जितेको ठाउँमा ठिकै छ ।

एमालेले जितेका ठाउँमा हाम्रो पहिलो हक रहन्छ। सबैको आकांक्षा बढ्दो रहेछ। कांग्रेसका कतिपय नेताहरू गठबन्धनप्रति इमान्दार देखिएका छैनन्।’

उनले एमालेमा रहेका नेताहरूलाई ओली सुध्रिने मान्छे नभएकाले विद्रोह गरेर आफ्नो पार्टीमा आउन आह्वान गरे ।

एमालेमै बसेर समय सकिएपछि निराश भएर राजनीति बन्द गर्नुपर्ने अवस्था आउनु पर्नेबारे सचेत गराए।

एमाले भन्ने पार्टी कम्युनिष्ट होइन। केपी ओलीको एउटा कुर्सीको खुट्टा भाँचियो। अर्को पनि बलियो छैन ।

केही दिनअघि नै धर्मराइसकेको थियो। त्यहाँ क्रान्तिकारी र इमान्दार मान्छेहरुलाई ठाउँ छैन’ अध्यक्ष नेपालले भने, ‘कम्युनिष्ट आन्दोलनप्रति समर्पित भएका योद्धाहरुलाई कुनै ठाउँ छैन। यहाँ आउनुस्।’

ओली दक्षिणपन्थी भाषमा भासिएर व्यक्तिवादी अहंकारी बनेको टिप्पणी गरे ।

एमालेको कुनै भविष्य नै नभएकाले त्यहाँ विद्रोह गरेर आफ्नो पार्टी निर्माणमा लागेको बताए।

‘७७ जिल्लामै पार्टी कमिटी बसेको छ। ७५३ पालिकामध्ये अधिकांश ठाउँमा कमिटी बनाइसकेका छौँ ।

७ महिनाको प्रतिकुलाको बिचमा हाम्रो पार्टीमा बढेको लहर यो सानो होइन’ उनको भनाइ छ ।

ओली अहंकार र दम्भको घोडामा चढेर सत्ताको मात लागेर अहिलेको परिस्थिती बनेको दाबी गरे ।

कटाक्ष गर्दै भने,‘अहंकार र दम्भको घोडामा चढेका ओली केन्द्रमा पछारिए, प्रदेशमा पछारिए, राष्ट्रियसभामा पछारिए, पछारिँदाखेरि पनि अहिलेसम्म पनि होस खुलेको छैन।’

प्रकाशित मिति:April 23, 2022