उम्मेदवार बन्न सघाएको भन्दै एक दलित युवकको हत्या

  Sampatti News

April 27, 2022

काठमाडौं – स्वतन्त्र उम्मेदवारी दिन सघाएको निहुँमा सप्तरीको खडक नगरपालिका-४ मा एक दलित युवकको हत्या भएको छ ।
आसन्न स्थानीय निर्वाचनका लागि सोही नगरपालिकाको ४ नम्बर वडाअध्यक्षमा स्वतन्त्रबाट महादेव पासवानले मनोनयन दर्ता गराएका थिए । उनलाई उम्मेदवार बन्न सघाएको भन्दै त्यही दिन राति स्थानीय २५ वर्षीय सन्तलाल पासवानमाथि आक्रमण गरियो ।

स्थानीयका अनुसार रडको आक्रमणबाट सन्तलालको टउकोमा गम्भीर चोट लागेको थियो । तत्कालै उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल लगिएकोमा गएराति उनको मृत्यु भएको हो ।

उनको मृत्युपछि आक्रोशित स्थानीयले आज पूर्वपश्चिम राजमार्गमा प्रदर्शन गरेर सवारी अवरुद्ध पारे । प्रशासनले घटनाको छानबिन गरी दोषीमाथि कारबाही र पीडित परिवारलाई क्षतिपूर्ति दिनुपर्ने स्थानीयको माग छ ।

‘स्वतन्त्र उम्मेदवार बन्नु हरेक नेपाली नागरिकको अधिकार हो’, उनले भने, ‘उम्मेदवार खडा गरेकै निहुँमा सन्तलाललाई चौधरी समुदायका व्यक्तिहरूले धाकधम्की दिएका थिए । तर, उनीमाथि आक्रमण गरी हत्या भएको छ । यो घटनाको प्रशासनले सुक्ष्म अनुसन्धान गरी दोषमाथि कडा कारबाही गर्नुपर्छ भने प्रदर्शन गर्नैहरुले माग गरेको छ।

सन्तलालको हत्यामा निवर्तमान वडाध्यक्ष गंगाराम चौधरीका छोरा विवेक चौधरी, शिक्षक दिलिप चौधरी, सुशान्त चौधरी, नरसिंह चौधरी लगायतका व्यक्तिको संलग्नता रहेको पीडित परिवारको आरोप छ । स्वतन्त्र उम्मेदवार दासले पनि घटनामा निवर्तमान वडाध्यक्ष गंगारामको हात रहेको टिप्पणी गर्छन् । गंगाराम नेकपा एसबाट वडाध्यक्षको उम्मेदवार छन् ।

इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक बालिस्टर सिंहले गाउँमा जन्ती लिएर आएको डिजे बाजाको विषयमा विवाद भएपछि सन्तलाल कुटिएको र उपचारको क्रममा मृत्यु भएको बताए ।

प्रकाशित मिति:April 27, 2022