गोहीका ५१९ अण्डा सङ्कलन

  Sampatti News

May 2, 2022

काठमाडौं – चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने राप्ती र नारायणी नदीबाट घडियालका ५१९ वटा अण्डा सङ्कलन गरिएको छ ।
ती नदी किनारमा भेटिएका १६ वटा गुडबाट अण्डा सङ्कलन गरिएको हो ।

निकुञ्जभित्र रहेको गोही प्रजनन् केन्द्र हेर्दै आउनुभएका सरोजमणि पौडेलका अनुसार राप्तीका १० गुड र नारायणीका छ गुडबाट अण्डा सङ्कलन गरिएको हो । ती दुई नदीमा भेटिएकामध्ये आठ वटा गुडका अण्डा ल्याइएको छैन । ती दुई नदीबाट गत वर्ष ४३६ वटा अण्डा ल्याइएको थियो । ती अण्डाबाट २५८ वटा बच्चा कोरलिएका थिए ।

विगत दुई वर्षदेखि प्रजनन् केन्द्रमा पारेका अण्डाबाट बच्चा कोरलिएका छैनन् । त्यहाँ २०३५, २०३६ र २०३७ सालका एक भाले र १२ वटा पोथी गोही छन् । त्यसयताका साना ठूला गरी ५३१ गोही रहेको पौडेलले जानकारी दिनुभयो ।

प्रजनन् केन्द्रमा भाले बुढो भएका कारण बच्चा नकोरलिएको हुनसक्ने अनुमान छ । प्रजनन् केन्द्रमा रहेका अन्य गोही साना भएकाले भाले पोथी पहिचान हुन सकेका छैनन् । पौडेलका अनुसार राप्ती र नारायणी नदीमा भने पाँच वटा भाले गोही देखिएका छन् ।

नदीमा भाले गोही नदेखिएपछि केही वर्षअघि बबइबाट एउटा भाले ल्याइएको थियो । राप्ती र नारायणी नदीमा अण्डा सङ्कलन गरी बच्चा कोरलेर हुर्काएर नदीमा छोड्ने गरिएको छ ।

हालसम्म राप्ती, नारायणी, कोसी र बबई नदीमा एकहजार ६९२ गोही छाडिसकिएको छ । निकुञ्जले विसं २०३५ मा गोही प्रजनन् केन्द्र स्थापना गरी प्रजनन् केन्द्रमा हुर्काइएका गोहीका बच्चा नदीमा छाड्दै आएको छ ।

प्रकाशित मिति:May 2, 2022