स्थानीय निकायको निर्वाचनमा निर्णायक शक्तिका रुपमा नेकपा एस

  Sampatti News

May 9, 2022

काठमाडौं-स्थानीय निकायको निर्वाचनमा नेपाल नेतृत्वको दल नेकपा एस निर्णायक शक्तिका रुपमा देखिएकाे छ ।

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल फेरि निर्णायक शक्तिका रुपमा देखिएका हुन् ।

स्थानीय निकायको निर्वाचनमा नेपाल नेतृत्वको दल नेकपा एसले खेल्ने भूमिकाले देशभरको चुनावी परिणाममा ठूलै उथलपुथल ल्याउने अवस्था बनेको छ ।

गठबन्धनले देशभर तालमेल गरेको छैन । महानगरपालिका, उपमहानगरपालिकाका अलावा ७५३ मध्ये आधाभन्दा कममा तालमेल गरेको छ ।

यसले देशभरको चुनावी नतिजामा फरक परिणाम ल्याउन सक्छ ।

महानगरपालिका र उपमहानगरपालिकाको प्रतिष्पर्धामा एकातर्फ गठबन्धनको दल विशेषले प्रमुख र उपप्रमुखमा उम्मेदवार खडा गरेका छन् ।

अर्कातर्फ एमाले प्रतिष्पर्धी देखिएको छ । एमाले फुटेर नेकपा एस बनेको छ । एसको मत जता जान्छ उसकै पल्लाभारी हुने धेरै पालिकाहरु छन् ।

एसको कार्यकर्ताको सक्रियता र मत नै चुनावमा जित या हारको निर्णायक बन्न सक्छ । त्यसैले माधव नेपाल उचित समयको पर्खाइमा देखिन्छन् ।

नेकपा एसमा अधिकांश एमालेका पुराना र परिश्रमी कार्यकर्ता छन् । पालिकाको तल्लो तहसम्मको समाज बुझेकाहरु थोरै संख्यामा भएपनि प्रभाव पार्ने खालका छन् । उनीहरुको सक्रियता कस्तो हुन्छ भन्ने चासो देखिएको ।

विगतमा केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्न माधव नेपाल नै निर्णायक बनेका थिए ।

शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने देखि प्रदेशहरुमा एमाले नेतृत्वको सरकार ढालेर गठबन्धनको सरकार बनाउन पनि उनकैको भूमिका निर्णायक थियो ।

त्यसपछि भएका राष्ट्रियसभाको चुनावमा पनि माधव नेपाल नै निर्णायक बने ।

यसपटक स्थानीय चुनावमा पनि माधव नेपाल नेतृत्वको नेकपा एस देशका प्रायः पालिकाहरुमा निर्णायक देखिएका छन् ।

विगतमा एउटै दल भएको भन्दै उम्मेदवार नउठाएको स्थानमा एसका मतदाता सूर्यमै मतदान गर्नसक्ने विषय पनि नउठेको होइन ।

कतिपय पालिकामा एसले जित्ने सम्भावित भए एमालेका मतदाताको मत पनि जान सक्छ । यसकारण पनि एस निर्णायक शक्ति बनेको छ ।

प्रकाशित मिति:May 9, 2022