June 7, 2022
काठमाडौं । नेपाल यू -१९ महिला विश्वकपमा छनोट हुन असफल भएको छ । आईसीसी यू-१९ महिला टी-ट्वान्टी विश्वकप एसिया छनोटमा नेपाल थाइल्याण्डसँग पराजित भएको हो ।
मलेसियाको युकेएम ओभलमा मंगलबार नेपाल थाइल्याण्डसँग ४९ रनले पराजित भएको हो । यो हारसँगै नेपाल सन् २०२३ को जनवरीमा दक्षिण अफ्रिकामा हुने प्रथम संस्करणको यू–१९ महिला टी–२० विश्वकपमा छनोट हुन असफल भएको छ ।
थाइल्याण्डले दिएको ९० रनको लक्ष्य पछ्याएको नेपालले १९ ओभर ५ बलमा अलआउट हुँदै ४० रन मात्र बनाउन सक्यो ।
एसिया छनोटमा ६ टोली सहभागी छन् । नेपालले आफ्नो अन्तिम खेल मलेसियासँग खेल्न बाँकी हुँदै विश्वकपमा छनोट नहुने निश्चित भएको हो । नेपालले ४ खेलबाट ४ अंक जोडेको छ । अपराजित थाइल्याण्डको समान खेलबाट ८ अंक भएको छ ।
प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले यसअघि कतारलाई ७९ रनले हराएको थियो । दोस्रो खेलमा युएईसँग १० विकेटको हार ब्यहोरेको थियो । सो खेलमा पहिले ब्याटिङ गरेको नेपाल ८ रनमै अलआउट भएको थियो ।
थाइल्याण्डको यो लगातार चौंथो जित हो । थाइल्याण्ड ४ खेलमा ८ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।
प्रकाशित मिति:June 7, 2022