June 8, 2022
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र सङ्कायअन्तर्गत राजनीति शास्त्रको स्नातकोत्तर पहिलो सेमेस्टरको परीक्षामा चरम लापरवाही देखिएको छ ।
२३ जेठमा सञ्चालित राजनीति शास्त्रको स्नातकोत्तर तह पहिलो सेमेस्टरको इन्टरनेशनल पोलिटिक्स विषयको प्रश्नपत्र अघिल्लो वर्षको प्रश्नपत्रसँग हुबहु मिलेको छ । यो विषयको सन् २०२१ र सन् २०२२ सञ्चालित परीक्षाको प्रश्नपत्र एउटै छ । खाली प्रश्नपत्रको क्रममात्र तलमाथि गरिएको छ ।
अहिले सन् २०२१ को परीक्षा सञ्चालन भैरहेको र सन् २०२० को परीक्षामा आएका प्रश्नहरु सबै मेल खाएको घटना सामान्य होइन । यसले प्रश्नपत्रको गोपनीयतामाथि नै प्रश्न उठेको छ । सम्बन्धित विषय समितिको अध्यक्ष समेत रहनुभएका राजनीतिशास्त्र केन्द्रीय विभागका विभागीय प्रमुख रामकृष्ण तिवारी समेत प्रश्नपत्र दोहोरिएकोप्रति जिम्मेवार रहेको डीन कार्यालयका कर्मचारी बताउँछन् ।
मानविकी संकाय डीन प्रा.डा. कुसुम शाक्य, परीक्षा बोर्ड हेर्ने सहायक डीन प्रा.डा. तारा भुषाल, प्रशासन तथा परीक्षा गोप्य शाखामा संलग्न कर्मचारीहरुलाई तत्काल निलम्वन गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन र अनुसन्धान अघि बढाउनुपर्ने देखिएको छ ।
मानविकी डीन कार्यालयमा अत्यन्तै न्यून संख्यामा कर्मचारीहरु रहेकोले समयमै परीक्षा र नतिजा सम्बन्धी कार्यहरु हुन सकिरहेको छैन । सिमित कर्मचारीको भरमा परीक्षा सम्बन्धी कार्यहरु गर्नुको भित्री रहस्य अनियमित कार्यमा लिप्त रहनुले पनि हो कि भन्ने आशंका पैदा गरेको छ ।
अन्तर्राष्ट्रिय राजनीति–५५३ को पहिलो खण्डको लामो उत्तरको १० नम्बरको तीनवटै प्रश्नपत्र हुबहु मिलेको छ । दोस्रो खण्डको ५र५ नम्बरको १० वटा प्रश्नहरु क्रमसंख्या तलमाथि गरेर सबै मिलेको देखिन्छ । २०२१ को परीक्षाको प्रश्नमा २०२० मा सोधिएको ११ नं.को प्रश्न ४ मा, १२ नं।को ६ मा, १२ नं।को ७ मा, ७ नं.को ८ मा, ८ नं.को ९ मा, ९ नं.को १० मा, १० नं.को ११ मा र ४ नं.को १२ नं.मा सोधिएको छ । ५ र १३ क्रमसंख्या भने उही रहेको छ ।
प्रकाशित मिति:June 8, 2022
November 23, 2024