आज अमेरिकी सैनिक जनरल नेपाल आउँदै, यस्तो छ भ्रमण तालिका

  Sampatti News Online

June 9, 2022

काठमाडौं । अमेरिकी सेनाका एसिया(प्रशान्त क्षेत्र प्रमुख चार्ल्स ए फिलन आज चारदिने औपचारिक भ्रमणका लागि नेपाल आउँदै छन् । फिलन आज बेलुकी आफ्नै विमानमा काठमाडौं उत्रने बताइएको छ । उच्चस्तरीय भेटका लागि नेपालस्थित अमेरिकी दूतावास र परराष्ट्र मन्त्रालयले समन्वय गरेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानसेनापति प्रभुराम शर्माको अमेरिका भ्रमणको गृहकार्य भइरहेका बेला फिलन नेपाल आउन लागेका हुन् । प्रधानसेनापति शर्मा आसारमा अमेरिका जाँदैछन् । प्रधानमन्त्री देउवाले पनि असारमै अमेरिका भ्रमण गर्ने बताइए पनि मिति तय हुन सकेको छैन । भ्रमणमा नयाँ एजेन्डा केही नरहेको र औपचारिक भ्रमण मात्रै रहेको सैनिक मुख्यालयले जनाएको छ ।

फिलनले नेपाल भ्रमण आउनुअघि मंगलबार भारतीय सेनाका प्रमुख मनोज पाण्डेसँग पनि द्विपक्षीय रक्षा सहकार्यका विषयमा छलफल गरेको भारतीय सञ्‍चारमाध्यमहरूले जनाएका छन् । एमसीसी बहस तीव्र बनेको र एमसीसी पारित भइसकेपछि नेपालमा अमेरिकी उच्चस्तरीय भ्रमण बाक्लिँदै गएको छ ।

नेपाल-अमेरिका कूटनीतिक सम्बन्धको ७५औं वर्षगाँठको अवसरमा दुई मुलुकबीचका उच्च अधिकारीबीच भेटवार्ता हुने भएको छ ।

प्रकाशित मिति:June 9, 2022