यू-१९ टी-ट्वान्टी विश्वकप छनोट : मलेसियाविरुद्ध नेपाल २५ रनले विजयी

Nepal Cover
२६ जेष्ठ २०७९, बिहीबार
image

काठमाडौँ । आइसिसी यू-१९ महिला टी-ट्वान्टी विश्वकप एसिया छनोट अन्तर्गतको अन्तिम खेलमा नेपालले मलेसियालाई २५ रनले पराजित गरेको छ ।

मलेसियामा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर ८६ रन बनाएको थियो । नेपालका लागि अञ्जलि विश्वकर्माले सर्वाधिक ३३ रन जोडिन् । यस्तै आश्मा पुलामी मगरले २६ रन बनाइन् । अन्य चार खेलाडीले दोहोरो अङ्क बनाउन सकेनन् ।

८७ रनको विजयी लक्ष्यसहित मैदानमा उत्रिएको मलेसियाले निर्धारित ओभरमा चार विकेट गुमाएर ६१ रन मात्र बनाउन सक्यो। मलेसियाका लागि एलिसा हन्टरले २८ रन बनाउनु बाहेक अन्य कुनै खेलाडीले दोहोरो अङ्क छुन सकेनन् ।

बलिङमा नेपालकी कृतिका मरासिनीले २ तथा मनीषा कुमारी उपाध्यायले एक विकेट लिए । नेपालको विश्वकप सपना भने समाप्त भइसकेको छ । तर, नेपालले आज मलेसियालाई हराएर छनोटमा सुखद अन्त्य गरेको छ ।

नेपालले पहिलो खेलमा कतारलाई ७९ रनले हराएको थियो । दोस्रो खेलमा ८ रनमा अलआउट भएको नेपाल युएईसँग १० विकेटले पराजित भएको थियो । तेस्रो खेलमा नेपालले भुटानलाई ४ विकेटले हराएको थियो । चौथो खेलमा नेपाल थाइल्याण्डसँग ४९ रनले पराजित भएको थियो ।