एसियन कपमा नेपाल कुवेतसँग पराजित

  Sampatti News Online

June 12, 2022


एएफसी एसियन कप २०२३ को छनोटअन्तर्गत तेस्रो चरणको खेलमा नेपाल कुवेतसँग पराजित भएका छन् । कुवेतको जाबिर अल अहमद स्टेडियममा गए राति भएको तेस्रो चरण समूह ‘ए’ को खेलमा नेपाल आयोजक कुवेतसँग ४–१ गोलअन्तरले पराजित भएको हो । कुवेतको जितमा युसेफ अलसुलिमानले दुई गोल गरे भने फाहद अल्रेसिदी र मोबारक अल्फानिनीले एक–एक गोल गरे ।
खेलमा नेपालका दर्शन गुरुङले एक गोल फर्काए । खेलको २८औँ मिनेटमा फाहदले हेडमार्फत गोल गर्दै कुवेतलाई सुरुआती अग्रता दिलाएका थिए । त्यस्तै खेलको ४८औँ मिनेटमा युसेफ अलसुलिमानले गोल गर्दै कुवेतलाई २–० को अग्रता दिलाए । खेलको ७०औँ मिनेटमा युसेफले व्यक्तिगत दोस्रो गोल गर्दै कुवेतलाई ३–० को अग्रता दिलाए ।
यसैगरी खेलको ७३औँ मिनेटमा अल्फानिनीले गोल गर्दा घरेलु टोली ४–० ले अघि रह्यो । त्यसपछि खेलको इन्जुरी समयमा दर्शनले एक गोल गरे पनि नेपाल ४–१ ले पराजित हुन पुग्यो । यस हारसँगै नेपालको यो दोस्रो हार हो । नेपाल पहिलो खेलमा जोर्डनसँग २–० ले पराजित भएको थियो ।

प्रकाशित मिति:June 12, 2022