त्रिविको पदाधिकारी कार्यालय सञ्चालनमा

  Sampatti News Online

June 13, 2022

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को पदाधिकारी कार्यालय १४० दिनपछि आजदेखि सञ्चालनमा आएको छ ।

त्रिविका उपकुलपति, रजिस्ट्रार र शिक्षाध्यक्षको कार्यकक्षमा लगाइएको ताला आइतबारदेखि पूर्ण रुपमा खुलाएपछि सञ्चालनमा आएको हो ।

त्रिविका रजिस्ट्रार प्रा. डा. पेशल दाहालले आजदेखि नियमित कार्यालय सुरु भएको बताए । ‘ताला पूर्ण रुपमा हिजोदेखि खुलेपछि हामी हिजो पनि आएको थियौँ’, उनले भने, ‘अबदेखि हामी नियमित कार्यालयमा आउँछौँ ।’

तालाबन्दीका कारण त्रिविका पदाधिकारी कार्यालय आएर काम गर्न सकेका थिएनन् । उनले झन्डै पाँच महिनादेखि रोकिएका कामलाई आजदेखि नै अगाडि बढाइने बताए ।

नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) ले यही जेठ २७ गते र गत शुक्रबार आंशिक शिक्षकहरुले जेठ २९ गते ताला खोलेका थिए । प्रतिनिधिसभाको बैठकमा पनि लामो समयदेखि लगाइएको ताला सांसदले खुलाउन माग गरेका थिए ।

यस्तै अनेरास्ववियुले यही जेठ २५ गते विज्ञप्ति निकाल्दै तीन दिनभित्र त्रिविमा लगाइएको ताला खोल्न आग्रह गरेको थियो ।

त्रिविका उपकुलपति, रजिस्ट्रार र शिक्षाध्यक्षको कार्यकक्षमा नेविसङ्घले गत माघ ७ गतेदेखि र आंशिक शिक्षकहरुले माघ २० गतेदेखि तालाबन्दी गरेका छन् ।

प्रकाशित मिति:June 13, 2022