त्रिवि शिक्षण अस्पतालद्दारा स्वास्थ्य बीमा कार्यक्रम स्थगित

  Sampatti News Online

June 17, 2022

काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले सरकारबाट स्वास्थ्य बीमा सेवा दिएबापत भुक्तानी नपाएपछि कार्यक्रम नै स्थगित गरेको छ ।

डेढ वर्षदेखि करिब ८ करोडभन्दा बढी भुक्तानी दिन बाँकी रहेको जनाउँदै अस्पताल प्रशासनले हालको लागि बीमा कार्यक्रम नै स्थगित गरेको जनाएको छ ।

अस्पतालका सूचना अधिकारी राम विक्रिम अधिकारीले असार १५ देखि अर्को सुचना प्रकाशित नभएसम्म लागि अस्पतालबाट सञ्चालित स्वास्थ्य बीमा कार्यक्रम स्थगित गरिएको जानकारी दिए ।

‘सरकारले रकम भुक्तानी गर्न नसक्दा औषधि किन्न नै समस्या भएका कारण बीमा बापतको उपचार सेवा स्थगित गर्नुपरेको हो,’ अधिकारीले अनलाइनखबरसँग भने,’ अस्पताल प्रशासनले पटक–पटक बीमा बोर्डमा गएर भुक्तानी अनुरोध गरेको थियो । तर, सरकारबाट पैसा नआएको भन्दै भुक्तानी दिन बोर्डले अनाकानी गर्‍यो ।’

‘आठ करोड पैसाको भुक्तानी नहुँदा पनि सेवा दिइरहेका थियौं । तर, धेरै समयको भुक्तानी बाँकी हुँदा अन्य सेवा प्रभावित भयो । जसले गर्दा बाध्य भएर सेवा बन्द गर्नुपर्यो,’ अधिकारीले थपे ।

हाल टिचिङमा मात्रै दैनिक स्वास्थ्य बीमा कार्यक्रम मार्फत चार सयभन्दा बढी बिरामीले सेवा लिँदै आएका छन् । अस्पतालले २०७७ मंसिर महिना देखि स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा ल्याएको थियो । स्वास्थ्य बीमा बोर्डको तथ्यांक अनुसार, हाल देशभर ४४० स्वास्थ्य संस्थाले बीमा कार्यक्रम लागू गरेका छन् ।

सरकारले स्वास्थ्यमा सर्वव्यापी पहुँच पुर्‍याउने, कुनै किसिमको आर्थिक कठिनाइ विना आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउने र सम्पूर्ण स्वास्थ्य सेवामा गुणस्तरको सुनिश्चितता कायम गर्ने उद्देश्यले २०७२ चैत २५ गतेबाट स्वास्थ्य बीमा कार्यक्रम लागू गरेको थियो ।

तर, पछिल्लो समयमा बीमितहरुले योगदान अनुसारको सुलभ र प्रभावकारी सेवा पाउन नसक्दा कार्यक्रमको आकर्षण नै खस्कँदै गएको छ । त्यसका साथै समयमा नै स्वास्थ्य संस्थाले सरकारबाट भुक्तानी पाउन नसक्दा कार्यक्रम नै बन्द गरिरहेका छन् ।

प्रकाशित मिति:June 17, 2022