अबदेखि कक्षा १ देखि ९ सम्मको परीक्षा नगरपालिकाले लिने

  Sampatti News Online

June 21, 2022

काठमाडौँ । अबदेखि कक्षा १ देखि ९ सम्मको परीक्षा नगरपालिकाले लिने भएको छ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले सबै विद्यालयको अर्धवार्षिक र वार्षिक परीक्षा नगरले लिने निर्णय गरेको हो ।

विद्यार्थीको क्षमताको निष्पक्ष मूल्याङ्कनका लागि नगर कै मातहतमा परीक्षा सञ्चालन गर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ । विद्यालय आफैले प्रश्नपत्र बनाएर उत्तरपुस्तिका पनि आफैले परीक्षण गर्दा विद्यार्थीको सही मूल्याङ्कन हुन नसकेको नगर शिक्षा समितिले निष्कर्ष निकालेको छ ।

त्यसैले आगामी दिनमा नगरपालिका भित्रका सबै विद्यालयमा (एसइई) जस्तै परीक्षा सञ्चालन गरिने सामाजिक विकास समितिका संयोजक एवं वडा नम्बर १ बाहुनीडाँडाका वडाध्यक्ष रुद्रकुमार राईले बताए ।

कक्षा १ देखि ९ सम्मकालागि नै प्रश्नपत्र नगरपालिकाले तयार गर्नेछ । परीक्षाको समयमा पनि हरेक विद्यालयमा फरक विद्यालयका शिक्षक परीक्षा नियन्त्रक बनाएर परीक्षा सञ्चालन गरिने छ भने उत्तर पुस्तिका पनि नगरपालिकाकै मातहतमा परीक्षण हुने उनको भनाइ छ ।

नगर शिक्षा समितिले निर्णय गरेसँगै अहिले कार्यविधि निर्माण भइरहेको छ ।

अब आर्थिक वर्ष २०७९/०८० को बजेटमा यस कार्यक्रमलाई समावेश गरेर सबै विद्यालयको अर्धवार्षिक र वार्षिक परीक्षा नगरपालिकाको मातहतमा हुने उनको भनाइ छ ।

यसरी परीक्षा सञ्चालन गर्दा नतिजा राम्रो ल्याउनका लागि विद्यालयहरू बिच प्रतिस्पर्धा हुनेछ । जसले गर्दा शैक्षिक सुधारमा थप टेवा पुग्ने नगर शिक्षा समितिको निष्कर्ष छ ।

गुणस्तरीय शिक्षाका लागि नगरपालिकाले अङ्ग्रेजी माध्यमबाट अध्ययन गराउने योजनाका साथ यो वर्षबाट माध्यमिक विद्यालयको कक्षा १ बाट सुरु गर्ने निर्णय समेत गरेको छ । जुन योजना कार्यन्वयनकालागि अहिले छलफल भइरहेको छ ।

प्रकाशित मिति:June 21, 2022