निर्माण व्यवसायी महासंघद्वारा निर्माण परियोजनाहरू बन्द गर्ने चेतावनी (सूचनासहित)

  Sampatti News Online

June 21, 2022

काठमाडौं । निर्माण व्यवसायी महासंघले निर्माण परियोजनाहरू बन्द गर्ने चेतावनी दिएको छ । नेपाल निर्माण व्यवसायी महासंघले इन्धनमा गरिएको मूल्यवृद्धिले निर्माण उद्योग नै ठप्प हुने अवस्थामा पुगेको जनाएको हो ।

इन्धनमा भएको मूल्यवृद्धिले मुलुकभर सञ्चालित राष्ट्रिय गौरवका आयोजना र अति जरूरी निर्माण परियोजनाहरू पनि अब बन्द हुने स्थिति उत्पन्न भएको महासंघले दाबी गरेको छ ।

सोमबार महासंघका महासचिव रोशन दाहालले विज्ञप्ति निकालेर सरकारले निर्माण व्यवसायीलाई राहत दिनुपर्ने माग गरेका छन् ।

महासचिव दाहालले भने ( ‘निरन्तर मूल्यवृद्धि भइरहे पनि सरकारले निर्माण व्यवसायीहरूलाई कुनै राहत दिन नसकेकोबाट समग्र निर्माण उद्योगको विकासप्रति नै सरकारको उदासिनता पुष्टि भएको छ ।’

साथै उनले बिमा निर्देशिका २०७८ ले गरेको व्यवस्थाबाट पूर्वाधारको लागत वृद्धि भई बिमा कम्पनीलाई सरकारले पोस्ने काम गरेको आरोप लगाएका छन् ।

निर्माण व्यवसायीलाई राहत दिने गरी सरकारले तत्काल मूल्य समायोजन निर्देशिका जारी गर्नुपर्ने माग पनि उनीहरूको छ ।

‘मुलुकभर सञ्चालनमा रहेको राष्ट्रिय गौरवका आयोजनाहरू र अति आवश्यक निर्माण परियोजनाहरूसमेत बन्द गरी यसअघि स्थगित आन्दोलनका कार्यक्रमसहित एक साताभित्रै थप कार्यक्रम सार्वजनिक गर्न महासंघ बाध्य हुनेछ,’ विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति:June 21, 2022