June 21, 2022
काठमाडौ । नेपाल हङकङसँग सात विकेटले पराजित भएको छ । एसिसी वुमन्स टी २० च्याम्पियनसिपअन्तर्गत मंगलबार भएको खेलमा नेपाल हङकङसँग सात विकेटले पराजित भएको हो । मलेसियाको किनरारा ओभलमा भएको समूह चरणको अन्तिम खेलमा नेपालले दिएको एक सय १० रनको लक्ष्य हङकङले १५.५ ओभरमा तीन विकेट गुमाउनुअघि एक सय १२ रन बनायो ।
हङकङको लागि मारिको हिलले ४५, नतासा माइल्सले २८ र कप्तान केरी चानले १७ रनको योगदान गरे । नेपालकी संगिता राईले दुई तथा सीता राना मगरले एक विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउनुअघि एक सय नौ रनको योगफल तयार गरेको थियो । नेपालका लागि कप्तान रुबिना क्षेत्रीले सर्वाधिक ३२ रनको योगदान गरिन् । उनले ३६ बलमा चार चौका प्रहार गरिन् ।
यस्तै, बिन्दु रावलले २३, अप्सरी बेगमले २२, सीता राना मगरले ९ र ममता चौधरीले सात रन जोडिन् । हङकङकी बेट्टी चानले दुई तथा मर्याम बिबी र इल्सा हब्बार्डले समान एक विकेट लिए ।
नेपाल हङकङसँग पराजित भएपनि एक खेल अगावै सेमिफाइनलमा पुगिसकेको छ ।
प्रकाशित मिति:June 21, 2022