प्रतिनिधिसभाको आजको बैठकवाट दुई विधेयक पास

  Sampatti News

June 26, 2022


काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रियसभाबाट प्राप्त दुई विधेयक स्वीकृत भएका छन् । आजको दोस्रो बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको नीति अनुसन्धान प्रतिष्ठान, २०७८ विधेयक र राष्ट्रियसभाबाट भएको संशोधनसहितको लोकसेवा आयोगसम्बन्धी विधेयक, २०७५ स्वीकृत भएको हो । आजको अघिल्लो बैठकमा नीति अनुसन्धान प्रतिष्ठान विधेयक, २०७८ विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेश गर्न गणपूरक सङ्ख्या नपुगेकाले आधा घण्टाका लागि बैठक स्थगन भएको थियो ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द शर्मा कोइरालाले राष्ट्रियसभाबाट प्राप्त लोकसेवा आयोगसम्बन्धी विधेयक विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेपछि सोमाथि सैद्धान्तिक छलफल भएको थियो । छलफलमा भाग लिँदै सांसदहरूले लोकसेवा आयोगलाई सबै प्रदेशमा समानुपातिकरूपमा विस्तार गरिनुपर्ने, प्रदेश लोकसेवा आयोगसँगको सम्बन्ध, परीक्षा सञ्चालनमा समन्वय, मुलुकमा दक्ष जनशक्ति र कर्मचारी उत्पादनमा ध्यान दिनुपर्नेलगायत विषयमा ध्यानाकर्षण गराएका थिए ।

प्रकाशित मिति:June 26, 2022