सशस्त्र प्रहरीद्वारा लाखौ मुल्य बराबरको चोरीपैठारीको विभिन्न सामान बरामद

  Sampatti News Online

June 27, 2022

खेम राज खनाल

काठमाडौं । पश्चिम नवलपरासी जिल्लाको पाल्हीनन्दन गाँउपालिका २ मुडेरास्थित सीमा ईलाकाबाट असार १२ गते सशस्त्र प्रहरीले करीब २ लाख ४ हजार रुपैयाँ बराबरको चोरीपैठारीको मोवाईलको टेम्पर ग्लास बरामद गरेको छ ।

भारतबाट अवैध रुपले भन्सार छली ल्याउँदै गरेको अवस्थामा उल्लेखित मूल्य बराबरको २ हजार ४ सय वटा टेम्पर ग्लास सशस्त्र प्रहरी बल नेपाल बिओपी हरपुरबाट सशस्त्र प्रहरी निरीक्षक हरेराम शर्मा दाहालको कमाण्डमा खटिएको टोलीले बरामद गरेको हो ।

यसैगरी सशस्त्र प्रहरी बल नेपाल बिओपी घुस्कीबाट सशस्त्र प्रहरी नायव निरीक्षक राजेन्द्र कुमार रावलको कमाण्डमा खटिएको सशस्त्र प्रहरीले असार १२ गते करीब १ लाख ६५ हजार रुपैयाँ बराबरको चोरीपैठारीको विभिन्न औषधी बरामद गरेको छ ।

भारतबाट अवैध रुपले ल्याउँदै गरेको अवस्थामा उक्त औषधी सुनसरी जिल्लाको हरिनगर गाँउपालिका ६ घुस्कीबाट बरामद गरिएको हो ।

त्यसैगरी सशस्त्र प्रहरी बल नेपाल बिओपी सम्सीबाट सशस्त्र प्रहरी निरीक्षक भिमबहादुर रानाको कमाण्डमा खटिएको टोलीले असार १२ गते महोत्तरी जिल्लाको सम्सी गाँउपालिका २ स्थित पर्सा बजारबाट करीब १ लाख ८ हजार रुपैयाँ बराबरको भन्सार छलीको लत्ताकपडा बरामद गरेको छ ।

यसैगरी महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका ९ पकौलीबाट असार १२ गते सशस्त्र प्रहरीले करीब १ लाख ७४ हजार रुपैयाँ बराबरको विभिन्न किसिमको औषधी र मोटर पार्ट्स बरामद गरेको छ । भारतबाट अवैध रुपले भन्सार छली ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल नम्बर ९ गण महोत्तरीबाट सशस्त्र प्रहरी बरिष्ठ हवल्दार घनश्याम यादवको कमाण्डमा खटिएको टोलीले बरामद गरेको हो ।

त्यसैगरी सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण बाँकेबाट सशस्त्र प्रहरी सहायक निरीक्षक सोमराज शर्माको कमाण्डमा खटिएको टोलीले असार १२ गते करीब १ लाख ४० हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।
भारतबाट अवैध रुपले भन्सार छली ल्याउँदै गरेको उक्त लत्ताकपडा बाँके जिल्लाको नेपालगंज उपमहानगरपालिका १६ स्थित चौलिका चोकबाट बरामद गरिएको हो । बरामद सामान आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ ।

प्रकाशित मिति:June 27, 2022