केएमसी स्कुलभित्र कर्मचारी मृत फेला, हत्या भएको आफन्तको आशंका

  Sampatti News Online

July 3, 2022

काठमाडौं । काठमाडौंको बुद्धनगरस्थित केएमसी स्कुलको होस्टलमा कार्यरत एक कर्मचारी मृत फेला परेकी छन् । काभ्रे जिल्लाको तेमाल गाउँपालिका घर भएकी २१ वर्षीया रमा रायमाझी स्कुलको गर्ल्स होस्टेलमा झुन्डिएको अवस्थामा फेला परेको हो ।

उनी शनिबार राति पौने ८ बजे झुन्डिएको अवस्थामा फेला परेको भन्ने प्रहरीलाई खबर आएको थियो । प्रहरीका अनुसार उनी होस्टेलको स्टाफको कोठाको डबल डेकर खाटमा झुन्डिएको अवस्थामा फेला परेकी हुन् ।

मृतकका आफन्त परिवारले उनको हत्या भएको आशंका गरेका छन् । यद्यपी प्रहरीले अनुसन्धान प्रक्रिया सुरु गर्न सकेको छैन । गएराति नै शव फेला परे पनि प्रहरीले अनुसन्धान प्रक्रिया सुरू गर्न नसकेको प्रहरीले जनाएको छ ।

मृतक परिवार तथा आफन्तहरू एक सय बढी घटनास्थलमा पुगेका छन् । आफन्त र परिवारले घटनास्थलमा तनाव सिर्जना गर्ने भएपछि अनुसन्धान प्रक्रिया अगाडि बढाउन प्रहरीले परिवारसँग छलफल गर्ने प्रयास गरिरहेको छ ।

मृतकका परिवारले वार्ता टोलीमा मिडियाकर्मीहरू पनि राख्न माग गरेका छन् । ‘हामीले वार्ता टोलीमा मिडियाकर्मी राख्नुपर्छ भनेका छौं। टोली पनि बनायौं तर मिडियालाई नदिने तपाईंहरूसँग मात्रै वार्ता गर्ने कुरा गरे,’मृतकका मामा श्याम खत्रीले भने,‘त्यसैले कुरा हुनसकेको छैन ।’

प्रकाशित मिति:July 3, 2022