जनताले मल र नागरिकता कहिले पाउँछन् ?

  Sampatti News Online

July 7, 2022


प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले मुलुकभर धमाधम रोपाइँ चालिरहेको अवस्थामा किसानले पर्याप्त मल नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएका छन् । समयमै मलको आपूर्ति हुन नसक्दा रोपाइँका क्रममा किसानले मलको प्रयोग गर्न पाएका छैनन् । मल नपाउँदा कृषि उत्पादन घट्ने भन्दै किसानहरु चिन्तित छन् । बैठकको शून्य समयमा बोल्दै सांसदहरुले तत्काल नागरिकता विधेयक ल्याएर गैरनागरिक बनेको नेपालीलाई नागरिकता दिलाउन सरकारसँग आग्रह गर्नुभयो । उहाँहरुले नागरिकता विधेयक ल्याउँदा मुलुकको भौगोलिक संवेदनशीलतालाई पनि ख्याल राख्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद डा डिला सङ्ग्रौला पन्थले देशभर रोपाइँ चलिरहेको भए पनि किसानले मल नपाएको उल्लेख गर्दै  किसानले मल कहिले पाउँछन् भनी प्रश्न गर्नुभयो । सांसद दिलकुमारीले जनताको छोराछोरीले अझै नागरिकता पाउन नसकेको भन्दै नागरिकता विधेयक कहिले संसदमा पेश हुन्छ भनी प्रश्न गर्नुभयो । सांसद दुर्गा पौडेलले ग्रामीण क्षेत्रका सडकको दूरावस्था सुधार गर्न माग गर्नुभयो । सांसद देवप्रसाद गुरुङले एसपिपी सम्झौता नगर्ने सरकार निर्णयबारे परराष्ट्र मन्त्रालयले गरेको पत्राचारका बारेमा सदनलाई जानकारी गराउन सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले नेपाल आइपिएसको सदस्य बन्न नसक्ने भन्ने निर्णय र एमसिसी सम्झौतासँगै पारित भएको १२ बुँदे व्याख्यात्मक घोषणा स्वीकार गरे÷नगरेका बारे जानकारी गराउन माग गर्नुभयो । 

सांसद  देवप्रसाद तिमिल्सिनाले किसानलाई मलको व्यवस्था गर्न सरकारकालाई निर्देशन दिन सभामुखको ध्यानाकर्षण गराउनुभयो । सांसद देवेन्द्रराज कँडेलले कोरोना सङ्क्रमितले बीमाबापतको रकम नपाएको र बीमाको रकम भुक्तानी नदिने बीमा कम्पनीलाई कारबाही गर्न माग गर्नुभयो । सांसद नवराज सिलवालले गैरनागरिकलाई नागरिकता दिने गरी विधेयक ल्याउन नहुने बताउनुभयो । “नेपाली नागरिकले नागरिकता नपाएको भए उहाँहरुलाई तत्काल नागरिकता दिनुपर्छ”, उहाँले भन्नुभयो, “हाम्रो छिमेकमा धेरै जनसङ्ख्या भएका मुलुक छन्, गैर नेपालीले नागरिकता नपाउनेतर्फ सरकार सचेत हुनुपर्छ ।”

सांसद निरुदेवी पालले किसानले मल, नागरिकले नागरिकता र विद्यार्थीले पाठ्यपुस्तक नपाएको विषयलाई तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद पद्मकुमारी अर्यालले जनसरोकारका विषय सम्बोधन गर्न सरकारले ध्यान नदिएको बताउनुभयो । चालु आवमा निर्माणाधीन विभिन्न २३१ आयोजनालाई बजेट कटौती गरिएको उल्लेख गर्दै उहाँले ती आयोजनालाई तत्काल बजेट विनियोजन गर्न आग्रह गर्नुभयो । सांसद पुष्पा भुसाल गौतमले महँगी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले विप्रेषणको सदुपयोग गरी मुलुकलाई आर्थिक समृद्धिमा लैजान साझा सङ्कल्प पारित गर्न आग्रह गर्नुभयो ।

 सांसद पोल्देन छोपाङ गुरुङले लमजुङ–मनाङ सडकखण्ड अवरुद्ध भइरहेको भन्दै तत्काल सडक सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद प्रेम सुवावले नगरकोट–दुवाकोट सडक तत्काल निर्माण सम्पन्न गरी पर्यटकीय क्षेत्रमा हुने आवातजावतलाई सहज बनाउन माग गर्नुभयो ।

प्रकाशित मिति:July 7, 2022