अस्पतालमा २४ घण्टासम्म चिकित्सक राउण्डमा नजाँदा ?

  Sampatti News Online

July 10, 2022


चितवन, २६ असार (रासस) चिकित्सकले अस्पतालमा नियम बनाएका छन् कि भर्ना भएका बिरामीको स्वास्थ्य अवस्थाका आधारमा २४ सै घण्टा सेवा दिनुपर्छ र खटिनुपर्छ । विडाम्बना यहाँस्थित भरतपुर अस्पतालको पुरुष र महिला मेडिकल वार्डमा भर्ना भएका बिरामीले शनिबार विहानदेखि चिकित्सकको सेवा लिन पाएका छैन् । अहिले अस्पतालको पुरुष मेडिकल वार्डमा १६ र महिला मेडिकल वार्डमा २४ बिरामी छन ।

पुरुष मेडिकल वार्डका १४ नम्बर शय्यामा रहनुभएका ५५ वर्षीय श्याम सार्कीले भन्नुभयो ,“ डाक्टर साहेब नआनुभएको २४ घण्टा भयो । उसो त अस्पतालको क्याबिनमा भर्ना भएका बिरामीले शनिबार बिहानदेखि चिकित्सकसंग भेट्न पाएका छैन ।

बिहान वार्डमा पुग्दा सबै बिरामी चिकित्सकको पर्खाइमा थिए । वृृद्धवृद्धा वार्डका १० बिरामी पनि चिकित्सक ‘कहिले आउलान्’ भनेर प्रतिक्षा गरिरहेका देखिन्थे । आक्कल झुक्कल आउने ‘मेडिकल अफिसर’ र ‘आवासीय चिकित्सक’को सुझाव अनुसार बिरामीलाई औषधि दिने गरेको नर्सहरूले बताए ।

महिला मेडिकल वार्डका नर्सहरुले दिएको जानकारीअनुसार शनिबार साँझको पालो डा ऋतुराज तिवारीको हो । बिरामीका आफन्तका अनुसार शनिबार बिहानको राउण्ड सिध्याएपछि एकजना चिकित्कसकले पनि वार्डमा ‘राउण्ड’ लगाउनुभएन । उनीहरु भन्दैथिए, “कम्तीमा चिकित्सकले हेरिदिएको भए, मन सन्तोष हुन्थ्यो ।” यसो त चिकित्सकले बिरामी हेरेपछि आधा निको यसै हुने उनीहरूको बुझाइ छ ।

चितवनसहित २१ जिल्लाबाट विपन्न बिरामी यहाँ उपचार गर्न आउने गर्दछन् । आफ्नो ड्युटीमा नजानु भएका डा तिवारीले टेलिफोनमा भन्नुभयो, “गल्ती भयो, अब म गर्दिनँ ।” यसअघि पनि डा तिवारी राउण्डमा नजाने गरेको नर्सहरूको गुनासो छ ।

अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्रा डा कृष्णप्रसाद पौडेलले राउण्डमा नजाने चिकित्सकलाई कारबाही गर्ने जानकारी दिनुभया । उहाँले भन्नुभयो, “तालिकाअनुसार आफ्नो जिम्मेवारी पूरा नगर्ने चिकित्सकलाई तत्काल कारबाही हुन्छ ।

भरतपुर अस्पताल सङ्घीय अस्पताल भित्र पर्छ । पछिल्ला दिनमा अस्पताल सुधारोन्मुख भए पनि केही चिकित्सकको अटेरीका कारण बिरामीले दुःख पाउने गरेका छन् ।

प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले गुनासो आफूले सुनेलगत्तै मेडिकल सुपरिटेण्डेन्टसँग यस विषयमा कुरा भएको बताउनुभयो । उहाँले अस्पताल विकास समितिको कर्मचारी भए समितिले र निजामतीको भए प्रशासनमार्फत कारबाहीका लागि सिफारिस गरिने जानकारी दिनुभयो ।

प्रकाशित मिति:July 10, 2022