July 10, 2022
काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन)ले ‘आफ्नै तलब’ खचगरेर चर्चित र्यापर यम बुद्धको सालिक बनाउने भएका छन् । सामाजिक सञ्जाल फेसबुकमा शनिबार बालेनले लेखेका छन्, म मेरो तलबबाट यम बुद्धको सालिक बनाउँनेछु ।
मेयर बालेनले असार पहिलो साता ल्याएकोे २५ अर्ब ४१ करोड आकारको अनुमानित बजेटमै यम बुद्धको सालिक बनाउने (रु १५ लाख विनियोजन) योजना समावेश थियो । तर त्यो निर्णय शुक्रबार बालेन आफैंले सामाजिक सञ्जाल फेसबुकमा शेयर गरेपछि भने चर्को आलोचना भयो । आलोचनाबाट बच्न बालेनले तत्काल निर्णय बदले– मेरै तलबबाट बनाउँछु यम बुद्धको सालिक ।
आलोचनाको जवाफमा ‘आफूले पाउने पारिश्रमिक खर्चेर सालिक बनाउँछु’ भन्नुले बालेनमा यो विषय नबढोस् भन्ने चाहना देखिन्छ । तर बालेनलाई सजिलै बजारले छोड्नेवाला छैन । यो निर्णयले यति धेरै चासो पाउनुमा पनि बालेन मेयर हुनु नै हो । यदि बालेनको ठाउँमा अरू कोही हुन्थे भने संभवतः रातारात निर्णय बदल्नुपर्ने वा बदलिने परिस्थिति नै सिर्जना नहुन सक्थ्यो ।
बालेनका हरेक निर्णय चासोका साथ हेरिनुमा पनि उनकै पृष्ठभूमिले काम गरेको छ । यदि कुनै राजनीतिक दलबाट मेयर जितेका हुन्थे भने उनलाई अहिले जसरी चासोका साथ नहेरिन सक्थ्यो । तर राजनीति, चुनाव र सत्तालाई मुठ्ठीभित्रको खेल सम्झिने दलहरूलाई चकित तुल्याउँदै बालेनले मेयर जिते । पक्कै पनि सत्ताको नेतृत्व गरिरहेको पाँच दलीय गठबन्धन र बलियो संगठनात्मक संरचना रहेको एमालेका उम्मेदवार हराउनु सजिलो थिएन । तर गैरदलीय उम्मेदवारी दिएर पनि बालेनले काठमाडौंको मेयर जिते । त्यसपछि बालेन आमचासोमा पर्ने नै भए ।
बलियो राजनीतिक बिरासत बदल्ने असाधारण सफलता पाएका बालेन आफूलाई व्यक्तिमा मात्रै सीमित नराखेर फरक ‘सोच’का रूपमा परिभाषित गर्छन् । मेयर बन्ने चुनावी दौडकै क्रममा उनको दावी थियो– म उम्मेदवार बनिरहँदा राजनीतिप्रति युवा पुस्ताको आकर्षण छ ।
तर तिनै बालेनले सालिक बनाउने महानगरको निर्णय स–गर्व शेयर गरेपछि भने समर्थनको ठाउँ आलोचनाले भरियो । यसलाई पनि अस्वाभाविक मान्न मिल्दैन । किनकि दलहरूले गरेको गल्ती बालेनबाट नहोस् भन्ने अपेक्षा हुनु स्वाभाविक हो ।
निकट विगत हेर्दा पनि राजनीतिप्रति नागरिकमा वितृष्णा उत्पन्न हुनुपर्ने कारण मध्ये नेताहरूमा देखिएको सालिकरमूर्ति मोह एक हो । मान्छेका आधारभूत आवश्यकता भुलेर धार्मिक ग्रन्थ रामायण वर्णित राममन्दिर निर्माणलाई प्राथमिकतामा राखेको भनी तत्कालीन प्रधानमन्त्री केपी ओलीको चर्को आलोचना भएको थियो । अझ नागरिक कोरोना महामारीको त्रासदीमा हुँदा पशुपतिनाथमा सुनको जलहरी चढाउने अपरिवर्तित अड्डीले ओली अलोकप्रिय बने । गैरकम्युनिष्ट नेताहरूमा मूर्ति र मन्दिर मोह सामान्य नै भयो ।
तर दलहरूकै विकल्पमा महानगरको मेयर अनुमोदित बालेनले पनि मूर्तिकै निर्णय प्राथमिकतामा राखे । संभवतः यम बुद्धको मूर्ति बनाउने निर्णय मेयर जित्नुअघि बालेनले गरेका बचनबद्धताको परिणाम हुन सक्छ ।
किनकि इन्जिनियरसँगै बालेनको पृष्ठभूमि र्यापर हो । र्यापर भएरै उनी बालेन्द्रबाट बालेन भए । बालेन भएरै मेयर जिते । त्यसपछि आफ्ना मार्गदर्शक र समर्थकप्रति ऋणी हुने नै भए । बालेनले पहिलो बजेटबाटै त्यो ऋण चुक्ता गर्न चाहे ।
अझ हिपहप विधामा यम बुद्धले जुन सम्मान पाएका छन्, बालेनको निर्णय कत्तिपनि अनौठो होइन । बरू हिपहप विधाबारे हामीसँग रहेको ‘दृष्टिदोष’ समस्या हो । किनकि यम बुद्धको सट्टा हनुमान, शिव, गणेश, बुद्ध वा अरू कुनै धार्मिक ग्रन्थमा उल्लेखित पात्रको मूर्ति बनाउने निर्णय गरिएका थिए भने यो तहकै आलोचना नहुन सक्थ्यो १ आखिर बनिरहेकै छन्, अनेक मूर्तिहरू ।
संगीत क्षेत्रका हस्तीहरूको सालिक राजधानीदेखि मोफसलका चोकहरूमा छँदैछ, बन्दैछन् । नेपाली कांग्रेसले संस्थापक नेताहरूको मूर्ति कुद्न छोडेको छैन । नेताका मूर्ति थपिरहेकै छन् ।
मदन भण्डारीको मूर्ति कति बने भन्ने लगत सायद नेकपा एमालेसँग छैन । किनकि मदन भण्डारीप्रति एमालेमा अथाह सम्मान छ, सवाल गर्नलाई कुनै ठाउँ नै छैन । माओवादीले सशस्त्र विद्रोहमा प्राण गुमाएकाहरूको सालिक कति बनाए होलान् १
मधेश आन्दोलनमा सहादत पाएकाहरूको सालिकमा वर्सेनि श्रद्धाको फूल चढाइँदैछ । मूर्ति निर्माण र उचित तिथि बनाएर तिनको पूजा राजनीतिक इतिहासको अंश बनेको छ । नेपालमा मूर्ति निर्माण र पूजाको परम्पराले सम्भवतः शाह वंशीय शासनकालबाटै तीव्रता पायो । पूर्वराजाहरूका सालिक अहिले पनि चोकचोकमा छँदैछन् ।
समाज विकास क्रमको इतिहासमा शाह वंशीय शासनकाल भन्दा निकै अगाडिबाट मूर्ति निर्माण र पूजा भयो । अनेक देवी देवता, कूल देवता इत्यादिका मूर्ति त्यसका प्रमाण हुन् । राणा र राजतन्त्रको अन्त्यपछि दलहरूले आफ्नो शासन व्यवस्था चलेको अनुभूति दिलाउन नेताहरूको सालिक निर्माणमा होड चलाए । सँगै, भोट बढाउने प्रयोजनका निम्ति धार्मिक ग्रन्थमा उल्लेखित पात्रहरूको मूर्ति निर्माणको रेकर्ड राख्न चाहे ।
बदलिन नसकेको तिनै मूर्ति संस्कृति र सोचको सिको बालेनले पनि गरे । उनी जुन बाटो भएर महानगरको नेतृत्वमा पुगे, सकेसम्म इमान्दार बन्ने प्रयत्न स्वरूप यम बुद्धको मूर्ति बनाउने निर्णय लिए । यो निर्णयले आकाश खस्नेवाला छैन । किनकि देशमा सुकुम्वासी हुने भनेका मान्छेहरू हुन्, मूर्तिहरूका लागि त जति पनि जमिन खाली छ ।
तिनै मूर्तिहरूमा एक बन्ने हुन्, यम बुद्ध । लोकगीत वा शास्त्रीय संगीतमा व्यक्तित्व बनाउनेका मूर्तिजस्तै हिपहप विधामा योगदान गरेकाले उनको सालिक ठडिने हो । संगीतका अरू विधामा योगदान गरेकाहरूको सालिक छन् भने यम बुद्धको किन नबन्ने १
उसैपनि बालेनको जितबाट हिपहप अलग छैन । नयाँ पुस्ताको रोजाइमा बालेनको सोच र हिपहप संस्कृति दुवै परेका हुन् । त्यसैले यम बुद्धको सालिक उभ्याउने बालेनको निर्णय नयाँ गल्ती होइन ।
तर बालेनसँगै देशको नेतृत्व गरिरहेका राजनीतिक नेतृत्वले अविछिन्न रूपमा निरन्तरता पाउँदै आएको यो संस्कृतिबारे सोच्न भने आवश्यक छ– समाजका हरेक मान्छेमा खुसी खोज्ने कि मूर्ति उभ्याउने ।
प्रकाशित मिति:July 10, 2022
November 23, 2024